• प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट

  • नेपाल सवाल ।।

    सम्मानीय प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।
    उहाँहरुको भेटका क्रममा एकअर्कासँग भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो।
    गत जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुवै जनाले दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीको घरमा पुगेको क्षतिप्रति पनि दुःख व्यक्त गर्नुभयो।


    पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास पनि व्यक्त गर्नुभयो।
    यसैक्रममा प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
    साथै उहाँले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।
    प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गर्नुभयो।
    पूर्वराष्ट्रपति भण्डारीले पनि अहिलेको परिस्थितिको लोकतान्त्रिक निकास निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। साथै उहाँले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस