काठमाडौँ । विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै दोस्रो रेडियन्ट शैक्षिक मेला आजदेखि सुरू भएको छ। ललितपुरस्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा दुई दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर जिल्ला विकास तथा समन्वय ईकाईका प्रमुख प्रकाश सापकोटाले गरेका छन्।
मेलामा हेल्थ क्याम्प, फुड स्टल, विज्ञान प्रदर्शनी, कारखाना साइन्स स्टल, आर्ट एण्ड क्राफ्ट, फेसियल पेन्ट र विभिन्न विषयगत स्टलहरू सञ्चालन हुनेछन्। स्कूलका संस्थापक प्राचार्य डिके ढुंगानाले विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी, उनीहरूको सर्वाङ्गीण विकासका लागि विगत २७ वर्षदेखि क्रियाशील रहेको बताए। उनले भने, “यो मेलाले विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रत्यक्ष प्रदर्शनको अवसर प्रदान गर्नेछ।”

मेलामा विद्यार्थीले वर्षभर सिकेका सीप र परियोजनाहरू प्रदर्शनी मार्फत देखाउने योजना छ। विद्यालयका म्यानेजर जीवन सापकोटाले मेलामा अभिभावक र आम दर्शकहरूले विद्यार्थीहरूले सिकेका सीपहरू कसरी आत्मसात गरेका छन् भन्ने प्रत्यक्ष अनुभव गर्न सकिने बताए ।
पहिलो दिन रेडियन्टका आफ्नै विद्यार्थी र अभिभावकहरूको सहभागीता रहने छ भने दोस्रो दिन ३० भन्दा बढी विद्यालयका विद्यार्थी र शिक्षकहरूले मेलाको अवलोकन गर्ने कार्यक्रम रहेको छ। प्राचार्य ढुंगानाले यो कार्यक्रम विद्यार्थीहरूको शैक्षिक र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

