काठमाडौँ । खोटाङ हलेसी सेवा समाज वि.सं. २०६७ साल फाल्गुन ११ गते स्थापना भई काठमाडौँको काडाघारीमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ। समाजमा हाल २६७ घरधुरी खोटाङे सदस्य आबद्ध रहेका छन्।
संस्थापक अध्यक्षहरू गोविन्द भट्टराई, कर्णराज कटुवाल र गणेश बस्नेतको पहलमा स्थापना भएको समाज हाल अध्यक्ष इन्दा थापाको नेतृत्वमा सक्रिय रूपमा अघि बढिरहेको छ। पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कर्णराज कटुवालको मार्गदर्शनमा समाजले स्वास्थ्य शिविर, रक्तदान, आर्थिक सहयोग, सम्मान कार्यक्रमलगायत विभिन्न सामाजिक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

यसैबिच खोटाङ कलाकार समाज काठमाडौंसँगको सहकार्यमा काठमाडौंको दक्षिणकाली क्षेत्रमा वृहत् बनभोज कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमबारे जानकारी समाजका महासचिव सुरेन्द्र कटुवालले दिनुभयो। करिब ३५० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा लोकसंगीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
सोही अवसरमा द भ्वाइस अफ नेपाल सिजन–७ को टप–४ मा स्थान बनाउन सफल गायक सागर संसार राईलाई बधाई ज्ञापन गरिएको थियो। साथै “सागर संसार राई जिताऊ अभियान” का लागि रु. ९० हजार आर्थिक सहयोग संकलन गरिएको महासचिव कटुवालले जानकारी दिए ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, कलाकार तथा सहभागीप्रति अध्यक्ष इन्दा थापा र सल्लाहकार संयोजक कर्णराज कटुवालले धन्यवाद व्यक्त गरेका थिए ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

