• काभ्रेको महाकाल डाँडामा अर्गानिक फार्म स्टे सुरु, पर्यटक आकर्षणको नयाँ गन्तव्य

    काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ महाकाल डाँडामा परम्परागत शैलीमा आधारित ‘लेकाली होम एण्ड अर्गानिक फार्म स्टे’ सञ्चालनमा आएको छ।

    करिब दुई महिनाअघि (मंसिर २०८२) बाट औपचारिक रूपमा सञ्चालनमा आएको यस फार्म स्टेले गाउँको जीवनशैली, स्थानीय खाना र परम्परागत संस्कृतिको अनुभव दिलाउने लक्ष्य लिएको छ।

    सञ्चालक विशेष तिमल्सिनाका अनुसार यो फार्म स्टे लक्जरीभन्दा पनि लोकल र परम्परागत वातावरणलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको हो। “गाउँको अनुभव लिन चाहने पाहुनालाई गाउँमै आएर बस्ने, खाने र यहाँको जीवनशैली बुझ्ने अवसर दिने हाम्रो उद्देश्य हो,” उनले भने।

    हाल फार्म स्टेमा सानो विश्राम क्षेत्रसहितको डाइनिङ स्पेस र जोडीका लागि अट्याच बाथरुम भएका कोठाहरू सञ्चालनमा छन्। हाल करिब ३५ जनासम्मको नाइट स्टे क्षमता रहेको सञ्चालक तिमल्सिनाले जानकारी दिए ।

    फार्म स्टे परिसरमा क्याम्प फायर र बार्बेक्युका लागि छुट्टै स्थान तयार गरिएको छ, जहाँ एकैपटक छ–सात समूहले बस्न सक्ने व्यवस्था रहेको छ। साथै, पाहुनालाई ढिकी, जातो, मदानीजस्ता परम्परागत उपकरणको प्रयोग अनुभव गराउने योजना पनि रहेको तिमल्सिनाले जानकारी दिए।

    स्थानीय सांस्कृतिक पहिरन लगाएर फोटो खिच्ने तथा गाउँको वातावरणसँग नजिकिने कार्यक्रम पनि केही समयपछि सुरु गरिने तयारी रहेको उनले बताए ।

    यहाँ प्रयोग हुने अधिकांश खाद्यान्न आफ्नै करेसाबारीमा उत्पादन गरिएको अर्गानिक हुने उनले बताए। काठमाडौँ उपत्यकाबाट नजिकै रहेको यो ठाउँमा शान्त वातावरणमा गाउँको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

    तिमल्सिनाले प्रतिस्पर्धाभन्दा सहकार्यमा विश्वास रहेको बताउँदै बेथानचोक क्षेत्रलाई एग्रो–टुरिजमको केन्द्र बनाउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे।

    उनका अनुसार दुई महिनाको अवधिमा करिब दुई सयभन्दा बढी पाहुना आइसकेका छन् र अधिकांशले स्थानीय वातावरण र अर्गानिक खानाको प्रशंसा गरेका छन्। तर सडकको अवस्था भने सुधार गर्नुपर्ने सुझाव धेरैले दिएको उनले बताए।

    पर्यटन व्यवसायीले सरकारसँग अनुदानभन्दा पनि सहुलियत ऋण, पूर्वाधार विकास र सडक सुधारमा ध्यान दिन आग्रह गरेका छन्। “भिजन भएका र देशको अर्थतन्त्रमा योगदान दिने योजना भएका व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने नीति भए पर्यटन क्षेत्र अझै सुदृढ हुन्छ,” उनले भने।

    करिब एक रोपनी क्षेत्रफलमा फैलिएको यो फार्म स्टे पुराना घरलाई मर्मत गरी सञ्चालनमा ल्याइएको हो, जसले लगानी लागत घटाएको उनले बताए। परिवारका चार सदस्य मिलेर सञ्चालन गरिरहेको यस फार्म स्टेमा धार्मिक परम्परा र व्यवसायबिच सन्तुलन मिलाउँदै काम अघि बढाइएको उल्लेख गरिएको छ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.