काठमाडाैँ । बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी सोनी भट्टराई पछिल्लो समय सामाजिक अभियन्ताबाट अघि बढ्दै युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा उदाइरहेकी छन्।
काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्यका रूपमा कार्यरत रहँदा भट्टराई नेतृत्वको टोलीले नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको निवासबाट नाबालिकाको उद्धार गरेको घटना व्यापक रूपमा चर्चामा आएको थियो। उक्त घटनाले बालअधिकार संरक्षणमा स्थानीय तहको दायित्व र सक्रिय हस्तक्षेप कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको थियो। बालअधिकार उल्लङ्घनका घटनामा प्रत्यक्ष हस्तक्षेप गर्दै उनले संस्थागत सुधारका लागि निरन्तर आवाज उठाउँदै आएकी छन्।

राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन्। राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममार्फत उनले युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कामकारबाही र नागरिक अधिकारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै आएकी छन्। यस कार्यक्रमलाई युवा नेतृत्व विकासको प्रभावकारी अभ्यासका रूपमा लिइँदै आएको छ।
भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छन्। उनका गतिविधिले बालअधिकार र युवाको राजनीतिक सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ।
आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ को उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएकी छन्। जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उनले नागरिक अधिकार, बालअधिकार र युवाको राजनीतिक सहभागितालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएकी छन्। समावेशी, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा उनले स्पष्ट धारणा राख्दै आएकी छन्।
गोरखा नारेश्वर घर भएकी भट्टराईलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिका रूपमा पनि चिनिन्छ। पार्टी स्रोतका अनुसार उनलाई गोरखा–१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस महत्वपूर्ण रहेको बताइन्छ।
बालअधिकार र युवा नेतृत्व विकासलाई सँगसँगै अघि बढाउँदै आएकी सोनी भट्टराईलाई धेरैले नयाँ पुस्ताको आशा र सम्भावनाको प्रतिनिधि पात्रका रूपमा हेरेका छन्। सामाजिक अभियन्ताबाट राजनीतिक यात्रासम्मको उनको निरन्तरताले रास्वपाभित्र नयाँ सोच र पुस्तागत परिवर्तनको प्रयासलाई समेत संकेत गरेको देखिन्छ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

