काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–स्थित बाल गिताञ्जली स्कुलले साना बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकालाई अझ सुदृढ बनाउने उद्देश्यसहित ‘विद्यालय–अभिभावक साझेदारी कार्यशाला गोष्ठी–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ।

नर्सरीदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीहरूका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम ‘खेलसँगै सिकाइ’ अवधारणामा आधारित थियो।


कार्यक्रममा तयार पारिएका विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक खेलहरूमा अभिभावकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

खेलका माध्यमबाट सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अनुभव लिँदै अभिभावकहरूले आफ्ना अनुभूति र सुझावहरू कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए।

कार्यक्रममा अभिभावकको दायित्व र विद्यालयको भूमिकाबिच गम्भीर तथा सकारात्मक अन्तरक्रिया भएको विद्यालयले जनाएको छ। छलफलका क्रममा बालबालिकाको सिकाइ, व्यवहार र समग्र विकासका लागि विद्यालय र अभिभावकबिच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले बालबालिकाको प्रारम्भिक शिक्षामा अभिभावकको सक्रिय सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले भने, “बालबालिकाको पहिलो शिक्षक अभिभावक नै हुनुहुन्छ। विद्यालय र अभिभावकबिचको बलियो साझेदारीले मात्र बालबालिकालाई सुरक्षित, रमाइलो र प्रभावकारी सिकाइ वातावरण दिन सक्छ। यस किसिमका कार्यक्रमले दुबै पक्षबिचको समझदारी अझ प्रगाढ बनाउँछ।”

घिमिरेले कार्यक्रममा सहभागी सबै अभिभावकप्रति आभार व्यक्त गर्दै विद्यालयले आयोजना गर्ने आगामी शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पनि अभिभावकको निरन्तर साथ र सहभागिता अपेक्षित रहेको उल्लेख गरे।

विद्यालयले अभिभावकहरूको उल्लेख्य उपस्थितिलाई उच्च मूल्याङ्कन गर्दै यस्ता सहभागितामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

