काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलमा ‘गीताञ्जली डान्सिङ आइडल २०८२’ कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दर्शकको उत्साहपूर्ण उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको हो।


कार्यक्रममा विभिन्न चरणका अडिसन पार गर्दै फाइनल चरणमा पुगेका प्रतियोगीहरूले आफ्नो निरन्तर अभ्यास, धैर्य र नृत्यप्रतिको समर्पण प्रस्तुत गरेका थिए। अडिसनदेखि फाइनलसम्मको यात्रामा सहभागी सबै प्रतियोगीहरू प्रशंसाका पात्र बनेकाे विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले बताए ।

उनका अनुसार फाइनलिस्ट बन्नु आफैंमा ठूलो उपलब्धि हो, जसले सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यतर्फको सम्भावनालाई संकेत गर्दछ।

फाइनल चरणमा प्रतिस्पर्धात्मक तथा आकर्षक प्रस्तुति देखाउँदै केही प्रतियोगीहरू विजेता बन्न सफल भए। उत्कृष्ट प्रदर्शनका साथ उपाधि हात पार्ने विजेताहरूलाई कार्यक्रममै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी आयोजकहरूको विशेष भूमिका रहेको आयोजक पक्षले जनाएको छ। साथै, शिक्षक–शिक्षिका र अभिभावकहरूको सक्रिय सहयोगले कार्यक्रमलाई अझ व्यवस्थित र अविस्मरणीय बनाएको विद्यालयले उल्लेख गरेको छ।

विद्यालयका प्रिन्सिपल घिमिरेका अनुसार यस्ता सृजनात्मक र नेतृत्वमुखी कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारी भावना तथा जीवन उपयोगी व्यवहारिक सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने गर्दछ। भविष्यमा पनि यस्ता प्रतिभा पहिचान तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिने विद्यालयको योजना रहेको छ।

अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

