• गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक (भिडियाेसहित)

    काठमाडाैँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। उक्त गीत ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    राईको यो तेस्रो गीत हो, जसमा गायिका पेमा शेर्पाले स्वर भरेकी छन्। गीतले एकतर्फी प्रेमको पीडा, प्रेममा प्राप्त नहुने अनुभूति र आत्मीय प्रेमप्रतिको शुभेच्छालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ चर्चा पाउन थालेको छ।

    गीतको संगीत ओमप्रकाश राईले तयार पारेका हुन् भने एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यसैगरी, गीतको इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ले र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्।

    यसअघि पनि गीतकार राईका सिर्जनाहरू संगीतप्रेमीले रुचाएका छन्। २०७५ सालमा शिला खनालले राईकै शब्द रहेको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यसैगरी २०७९ मा मनमा बी राई र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीतमा स्वर दिएका थिए।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन्। दश वर्षे शिक्षण पेशा छोडेर साहित्यिक यात्रामा लागेका राईका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) बालकथासंग्रह प्रकाशित छन्।

    राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्षसमेत हुन्। ‘लघुकथा सौन्दर्य’ अभियानमार्फत लघुकथाको प्रवर्द्धनमा लागिरहेका उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक लघुकथासंग्रह प्रकाशित भइसकेका छन्।

    हालै गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ पनि बजारमा आएको छ। ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत उनले सम्पादन क्षेत्रमा पनि अनुभव बटुलेका छन्।

    नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) तथा गोधूलि साहित्य सम्मान (२०८२) लगायतका सम्मान प्राप्त गरिसकेका छन्।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.