काठमाडौँ । काठमाडाैँकाे कागेश्वरी मनोहरा नगरपालिका–स्थित बाल गीताञ्जली स्कुलमा विद्यार्थीहरूको प्रतिभा, अनुशासन र खेल भावना उजागर गर्ने उद्देश्यका साथ इन्टर हाउस बास्केटबल टुर्नामेन्ट भव्य रूपमा सम्पन्न भएको छ।

विहिबार आयोजित प्रतियोगितामा रेड, ग्रिन, ब्लु र येलो हाउसका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै उत्कृष्ट टिमवर्क, रणनीति र खेल कौशल प्रस्तुत गरेका थिए।


प्रतियोगिताका क्रममा खेल मैदान जोश, हौसला र दर्शकको तालीले भरिएको थियो। खेलाडीहरूले जित–हारभन्दा माथि उठेर अनुशासन, खेल भावना र आपसी सम्मानलाई प्राथमिकता दिएका देखिन्थे। यसले विद्यालयस्तरमै स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न सहयोग पुगेको विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले बताए ।

प्रिन्सिपल घिमिरेले यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका साथै मानसिक विकास, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले विद्यालयले आगामी दिनमा पनि यस्ता प्रेरणादायी र विद्यार्थी–केन्द्रित खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कोच राजेन्द्र लम्सालका अनुसार यो विद्यालयमा आयोजना गरिएको पहिलो इन्टर हाउस बास्केटबल टुर्नामेन्ट हो। विगतदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्दै आएको विद्यालयले यसपटक बास्केटबलमार्फत विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर दिएको उनले बताए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूको प्रदर्शन उत्साहजनक रहेको भन्दै उनले सबै खेलाडीको प्रशंसा गरे।

कार्यक्रमको सफल आयोजनाका लागि सहभागी सम्पूर्ण खेलाडी, शिक्षक तथा व्यवस्थापन टोलीलाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।

अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

