काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिका वडा नम्बर ६, लुब्दीखोलामा ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारासहित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
लुब्दीखोला युवा परिवार, भीरकोट–६, लुब्दीखोलाको आयोजनामा नव वर्ष २०८३ को अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। आयोजकले टिम दर्ता खुला गर्दै इच्छुक समूहलाई सहभागिताका लागि आह्वान गरेको छ। दर्ता प्रक्रिया २०८२ साल चैत २४ गतेसम्म खुला रहनेछ।

प्रतियोगिताको उद्घाटन २०८२ चैत २५ गते हुने र समापन २०८३ साल वैशाख १ गते लुब्दीखोला खेलमैदानमा गर्ने कार्यक्रम तय गरिएको क्लबका अध्यक्ष कमल थापाले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर र मिडल ब्लकरलाई ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।
प्रथम हुने टिमले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। तेस्रो हुने टिमलाई २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ५ हजार १ सय रुपैयाँ तोकिएको छ। आयोजकले खेलाडी सङ्ख्या ९ जना रहने र खेल नेपाल भलिबल संघको नियमअनुसार तथा स्कोरिङ प्वाइन्ट प्रणालीमा सञ्चालन गरिने जनाएको छ। खेल सञ्चालनका लागि मान्यता प्राप्त रेफ्रीको व्यवस्था गरिनेछ।
प्रतियोगितामा कुनै विवाद उत्पन्न भएमा रेफ्री तथा आयोजक समितिको निर्णय अन्तिम हुने उल्लेख गरिएको छ। साथै खेलाडीहरूको सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्ने भए पनि गम्भीर चोटपटकको अवस्थामा सम्बन्धित टिम स्वयं जिम्मेवार रहने व्यवस्था गरिएको छ।
टिम दर्ता गर्दा नामावलीसहित शुल्क बुझाउनुपर्ने र निर्धारित समयभन्दा ४५ मिनेट अगाडि नै टिमले अफिसियल डेस्कमा उपस्थित भई रिपोर्टिङ गर्नुपर्ने नियम लागू गरिएको छ।
बाहिरबाट आएका खेलाडी समावेश भएमा उनीहरूलाई ‘बी पोल’ बाट खेलाइनेछ भने सम्बन्धित वडाका सम्पूर्ण खेलाडी भएको टिमलाई ‘ए पोल’ बाट खेलाइने आयोजकले जनाएको छ।
यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकाससँगै युवाबीच एकता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

