फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो । एक्स्पो चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यो प्रदर्शनी हुन लागेको हो । आयोजककाअनुसार एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिष्पर्धात्मक स्टल २, फुड स्टल २ लगायत गरी जम्मा ८३ वटा स्टलहरू रहनेछन् । मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद, तथा आधुनिक पुष्प खेती प्रविधिका सामग्रीहरू प्रदर्शन तथा विक्रीका लागि राखिनेछन् । चार दिनसम्म चल्ने यस मेलालाई करिव ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न विधामा पुष्प व्यवसायीहरूबीच प्रतिष्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने कार्यक्रम रहेको फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राबहादुर तामाङले बताउनु भयो ।
उहाँकाअनुसार मेला स्थलमा बोटबिरुवामा लाग्ने रोग तथा कीराहरूको निदान र स्वास्थ्य परीक्षणका लागि विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ समेत सञ्चालन गरिनेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते शुक्रवार मेला स्थलमै रक्तदान कार्यक्रम पनि आयोजना गरिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिनुभयो ।
पुष्प व्यवसायको कारोबार घट्यो, आयातमा पनि भारी कमी
हाल ५२ जिल्लाको २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ भने ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । यद्यपि, देशको कमजोर आर्थिक अवस्था र नीतिगत समस्याका कारण यस वर्ष (आ.व. २०८१÷८२) पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ६८ करोड थियो ।
समग्र कारोबार घटे पनि विदेशी फूलको आयातमा भने भारी कमी आएको छ । अघिल्लो वर्ष २७ करोड ७९ लाखको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाखमा झरेको छ । त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कलाई उद्धृत गर्दै फ्यानले जनाएको छ ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

