• काठमाडौँमा सातौं राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता माघ १७ गते हुँदै

    काठमाडौँ । नेपाल योग खेलकुद संघको आयोजनामा सातौं राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आउँदो माघ १७ गते काठमाडौँमा आयोजना हुने भएको छ।

    बूढानीलकण्ठस्थित दिक्षालय स्कूल, कपनमा सञ्चालन हुने यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् तथा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रियस्तरको प्रतियोगिता हो।

    प्रतियोगितामा सातै प्रदेशबाट ३३१ जना खेलाडीहरूको सहभागिता सुनिश्चित भइसकेको छ। सहभागी खेलाडीहरूमध्ये २१८ जना महिला र ११३ जना पुरुष रहेका छन्। प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा बढी ११९ जना खेलाडी सहभागी हुँदैछन् भने कोशी प्रदेशबाट ४२, मधेशबाट २०, गण्डकीबाट १९, लुम्बिनीबाट १७, कर्णालीबाट १६ तथा सुदूरपश्चिम प्रदेशबाट १८ जना खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ।

    प्रतियोगिता सब–जुनियर (१० देखि १४ वर्ष), जुनियर (१४ देखि १८ वर्ष), सिनियर (१८ देखि २८ वर्ष), सिनियर ‘ए’ (२८ देखि ३५ वर्ष), सिनियर ‘बी’ (३५ देखि ४५ वर्ष), सिनियर ‘सी’ (४५ देखि ५५ वर्ष) र सिनियर ‘डी’ (५५ वर्षमाथि) गरी विभिन्न उमेर समूहमा सञ्चालन हुनेछ।

    प्रतियोगितामा दुई प्रकारका इभेन्ट समावेश गरिएको छ। सबै उमेर समूहका लागि अनिवार्य व्यक्तिगत पाँच योगासन विधा अन्तर्गत अगाडि झुक्ने, पछाडि झुक्ने, शरीर मोड्ने, हातद्वारा सन्तुलन र खुट्टाद्वारा सन्तुलन योगासन प्रदर्शन गर्नुपर्नेछ। पाँचवटै योगासनको कुल मूल्याङ्कन ५० अंकको हुनेछ र प्रत्येक आसन कम्तीमा १५ सेकेन्डसम्म स्थिर रूपमा धारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

    त्यसैगरी सब–जुनियर, जुनियर तथा सिनियर उमेर समूहका लागि कलात्मक एकल प्रतिस्पर्धा पनि सञ्चालन हुनेछ। यस इभेन्टमा खेलाडीले १० वटा योगासन प्रदर्शन गर्नुपर्नेछ, जसको कुल मूल्याङ्कन १०० अंकको हुनेछ। आसनहरू दोहोर्याउन नपाइने र संगीतसँग तालमेल मिलाउँदै कलात्मक रूपमा प्रस्तुत गर्नुपर्नेछ। प्रतियोगिताको समयावधि १५० देखि १८० सेकेन्ड तोकिएको छ।

    प्रतियोगिताका विजेताहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै उमेर समूहका स्वर्ण पदक विजेतामध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी पुरुषतर्फ ‘मिस्टर योगी’ र महिलातर्फ ‘मिस योगी’ उपाधिसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको स्थल र भोजन व्यवस्थापन दिक्षालय स्कूलले प्रायोजन गर्नेछ।

    नेपाल योगासन खेलकुद संघ २०७३ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई हालसम्म तीन वटा दक्षिण एसियाली, छ वटा राष्ट्रिय, दुई वटा उपत्यका स्तरीय तथा एक वटा माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना गरिसकेको छ।

    संघले मलेसियामा सम्पन्न १६औं अन्तर्राष्ट्रिय योगासन प्रतियोगितामा दुई स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको थियो। साथै हालै भारतको नयाँ दिल्लीमा सम्पन्न दोस्रो एसियाली योगासन खेलकुद प्रतियोगितामा पनि नेपाली टोलीले सहभागिता जनाउँदै विभिन्न पदक प्राप्त गरेको थियो।

    What’s your Reaction?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.