• एनआरएनए अमेरिकाले भन्यो: मन्त्री गुप्ताको विरोध गर्न खोजेको थिएनौ, उहाँलाई परेको असरप्रति माफी चाहन्छौं’

    काठमाडौँ । सतेन्द्र शाह नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले पछिल्लो सिर्जित समस्याबाट नेपाल सरकारका युवा तथा खेलमन्त्री बब्लु गुप्तालाई परेको असरप्रति क्षमायाचना गरेको छ । संघले दोस्रो विज्ञप्ती जारी गर्दै अनावश्यक विवादमा मन्त्री गुप्तालाई मुछ्न खोजिएमा खेद प्रकट समेत गरेको छ ।

    अमेरिकामा अहिले गैर आवासीय नेपाली संघका तीन वटा समुह छन् । त्यसमा सतेन्द्र शाह नेतृत्वको संघले आफु नै आधिकारीक संस्था भएको दावी गर्दै आएको छ । अन्य दुई समुह भने फुटेर गएको बताइन्छ । त्यसमा विकास उप्रेती अध्यक्ष रहेको समुहको युवा विभागले अमेरिकामा एक कार्यक्रम आयोजना गरेर मन्त्री गुप्तालाई अमेरिका बोलाएको थियो ।

    त्यस कार्यक्रममा उपस्थीति हुन मन्त्री गुप्ताले मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृतिको समेत लिइसकेको थिए । त्यसमा मन्त्री गुप्ताले नक्कली निम्तो स्वीकृति गराएर अमेरिका जान लागेको भनेर विवाद सिर्जना भएको थियो ।

    त्यसपछि विकास उप्रेती नेतृत्वको संघले मन्त्री गुप्तालाई कार्यक्रम आयोजना गरेर नै निमन्त्रणा गरेको बताएको थियो । सतेन्द्र शाह नेतृत्वको संघले भने मन्त्री गुप्तालाई निमन्त्रणा नगरेको भनेर पहिलो विज्ञप्ती निकालेको थियो । यो विवाद चर्किएपछि मन्त्री गुप्ताले अमेरिका भ्रमण रद्द गरिसकेका छन् ।

    त्यसपछि सतेन्द्र शाह नेतृत्वको गैर आवासीय नेपाली संघले दोस्रो विज्ञप्ती जारी गर्दै मन्त्री गुप्तालाई परेको असरप्रति क्षमायाचना गरेको छ । संघले मन्त्री गुप्ता प्रति भएको मानमर्दनमा दुःख व्यक्त गरेको छ । मन्त्रीको विरोध गर्न नखोजेको पनि संघले बताएको छ ।

    “यस सिर्जित परिस्थितिबाट माननीय मन्त्रीज्यू प्रति भएको मानमर्दनले हामीलाई दुःख लागेको छ । नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढिरहेको गैर अवासीय नेपाली संघले सदैव नेपाल सरकारका मन्त्रीहरूसँग नजिक रहेर काम गर्दै आएको छ । जेन जी पुस्ता जो नेपालको सकारात्मक परिवर्तनको आशामा छन्, त्यही पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बन्नुभएका बब्लु गुप्ताप्रति हाम्रो सम्मान रहेको छ,” संघको विज्ञप्तीमा भनिएको छ, “तर यस संस्थाको जानकारी बेगर आयोजना गर्न खोजिएको कार्यक्रमका सन्दर्भमा उहाँलाई समेत निम्तो पुगेको अवस्थाले संस्थाले कार्यक्रम आयोजना गर्ने क्रममा संस्थाको आधिकारिक चिजहरू प्रयोगमा आएको सन्दर्भमा स्वाभाविक विरोध जनाउँदा त्यसलाई मन्त्रीज्यूलाई नै अवरोध गर्न खोजिएको हो कि भन्ने ढंगले भइरहेको अपव्याख्याको विरोध गर्दछौं। साथै यसबाट पर्न गएको असरप्रति दुःख प्रकट गर्दछौं ।”

    संघले नेपाल सरसँग सधैं मिलेर काम गर्नै पनि बताएको छ । “अनावश्यक विवादमा मन्त्रीज्यूलाई मुछ्न खोजिएको प्रति खेद प्रकट गर्दछौं । यस क्रममा मन्त्रीज्यूलाई परेको असरप्रति माफी चाहन्छौं । यस संस्थाको उद्देश्य मन्त्रीज्यू, नेपाल सरकार, नेपाली र गैर आवासीय नेपालीलाई कुनै कोणबाट पनि नराम्रो बनाउनु नभएको अवगत गराउन चाहन्छौं । अन्तमा, नेपाल सरकारसँग सदैव सँगै रहेर अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं,”विज्ञप्तीमा भनिएको छ ।

    यस्तै, संघले संस्थाको ईआईएन (आन्तरिक राजस्व विभाग) र लेटरप्याड अनाधिकृत ढंगबाट प्रयोग गरिएको भन्दै आपत्ति पनि जनाएको छ ।

    “अनाधिकृत रूपमा लेटरप्याड र ईआईएन प्रयोग गरिएको सन्दर्भमा संस्थाले विरोध प्रकट गर्नु स्वाभाविक विषय हो । साथै यस संस्थाको जानकारीमा नरहेको एक कार्यक्रम आयोजना हुन लागेको र त्यसको बहानामा गलत मनसायसमेत जोडिएको भन्ने टिप्पणी विभिन्न संचारमाध्यम र समाजमा सुनिएपछि संस्था आयोजक नभएको जानकारी गराउनु आवश्यक देखिएकाले एक विज्ञप्तिमार्फत आम गैर आवासीय नेपाली र समस्त सबैमा जानकारी गराइएको थियो,”विज्ञप्तीमा भनिएको छ ।

    तर, त्यसलाई अपव्याख्या गरिएको संघले बताएको छ । “तर यस संस्था आयोजक नभएको कार्यक्रममा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्रीसमेत डाँकिएको अवस्था रहेको र यस संस्थाले आफ्ना धारणा सार्वजनिक गरिरहँदा त्यसको अपव्याख्या गरिएकोमा फेरि पनि सम्बन्धित सबैलाई सचेत गराउँदै संस्थाको लेटरप्याड, आधिकारिक ईआईएन लगायत प्रयोग नगर्न सूचित गर्दछौं,” विज्ञप्तीमा भनिएको छ ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.