काठमाडाैँ । गाउँको अर्थतन्त्रलाई कृषि उत्पादनमार्फत चलायमान बनाउँदै आएको पैचो पसलले आफ्नो ११ औं वार्षिकोत्सव गाउँमै मनाएको छ। ‘बसेपनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ आयोजित वार्षिकोत्सव गुल्मीको रुरुक्षेत्र–४ स्थित बलेटक्सारमा कम्पनीको केन्द्रीय कार्यालयमा कृषकसँगै सम्पन्न भएको हो।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषि उत्पादन मानव सभ्यताको विकासका लागि अपरिहार्य भएको बताउँदै भने, “विश्वमा जुनसुकै प्रविधि भए पनि मानिसको जीवन कृषि नै भर पर्छ। कृषि पेशालाई सम्मानित बनाउन सकेमात्रै देशले समृद्धि हासिल गर्न सक्छ।”

उनले कृषकहरूमा अनुदान वितरणमा देखिएको असमानताबारे पनि ध्यानाकर्षण गराउँदै भने, “अनुदान लिनेहरूले काम नगर्ने र मेहनतीले पाउने नपाउने समस्या भएकाले कृषि क्षेत्र फस्टाउन सकिरहेको छैन।”
छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले कृषि क्षेत्रमा अनुदान मात्र पर्याप्त नहुने बताए। उनले आफ्नो पालिकाले २८ प्रकारका कृषि उत्पादनलाई अनुदानमा सहयोग गरेको उदाहरण दिँदै कृषि विकासका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। साथै उनले नेपालका पहाडी क्षेत्रलाई फलफूल र अर्गानिक कृषि उत्पादनको गन्तव्य बनाउनु पर्नेमा जोड दिइन्।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीले पनि कृषकलाई अघि बढाए मात्र देश समृद्ध हुने बताइन्। उनले भनिन्, “पछिल्लो समय युवा देशबाहिर गए पनि घरमा रहेका महिलाहरूले कृषि कार्य गर्दै राम्रो आम्दानी गर्दैछन्।”
पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालमा कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको प्रमाणित भएको बताए। उनले गुल्मी जस्तो पहाडी भूभागमा ११ वर्षअघि कम्पनी स्थापना गर्दा चुनौती देखिएको भए पनि अहिले गाउँमा सडक सञ्जालले सहजता ल्याएको बताए। भण्डारीले कृषकलाई प्रोत्साहन गर्ने नीति बनाउने वातावरण सिर्जना भए विदेशमा रहेका युवा फर्किने विश्वास व्यक्त गरे।
पैचो पसलका प्रवन्ध निर्देशक धुव्रराज न्यौपानेले कम्पनीले गरेको लगानीले समाजमा नयाँ आयाम थपेको बताए। उनले कम्पनीको गाउँमै स्थापनाले रोजगारी सिर्जना र अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताए। अबका दिनमा किसानसँग जोडिएर लगानी र प्रविधि विस्तारमा कम्पनी काम गरिरहने उनले बताए।
वार्षिक उत्सवमा उत्कृष्ट किसान समूहको रूपमा सैयापोखरी किसान समूह, ढाव किसान समूह, जिमी किसान समूह, अस्लेवा किसान समूह र मुसिडाँडा कृषक समूहलाई सम्मान गरिएको थियो। यस्तै, सर्वोत्कृष्ट कृषकको रूपमा इमान सिंह रानालाई सम्मान गरिएको थियो।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

