नेपाली भूमि लिपुलेकका सम्बन्धमा भारतले आफ्नो अडान पुनः दोहोर्याउँदै नेपालका दाबीहरू ऐतिहासिक तथ्यमा आधारित नभएको बताएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार, सीमांकनका सम्बन्धमा नेपालले प्रस्तुत गरेका नक्सा र दाबीहरू प्रमाण र ऐतिहासिक दस्तावेजसँग मेल खाँदैनन्। भारतले उक्त क्षेत्र आफ्नो अभिन्न अंग भएको दाबी गर्दै आएको छ भने नेपालले सन् १८१६ को सुगौली सन्धिलाई मुख्य आधार मान्दै लिम्पियाधुरा, कुटी, गुन्जीसहितको लिपुलेक क्षेत्र नेपालकै भएको स्पष्ट पार्दै आएको छ।
यो विवाद विशेषगरी भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरेपछि उत्कर्षमा पुगेको थियो। नेपालले आफ्नो नयाँ राजनीतिक नक्सामा उक्त क्षेत्र समावेश गरेपछि दुई देशबीच कूटनीतिक दूरी बढेको छ। भारतले यस विषयलाई वार्तामार्फत समाधान गर्ने बताए पनि ऐतिहासिक तथ्यका आधारमा नेपालको दाबीलाई स्वीकार गर्न नसकिने अडान राख्दै आएको छ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।








