March 3, 2024

प्राचिन पलान्चोक शहर अर्थात पाँचखाल नपाको ऐतिहासिक एवं पुरातात्विक महत्व- श्रीकृष्ण धिमाल

0
palanchok
  •  श्री श्रीकृष्ण धिमाल—

पलान्चोक शहरको ऐतिहासिक एवं पुरातात्विक

१ ऐतिहासिक पृष्ठभूमि

मध्यनेपालको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पलाञ्चोक क्षेत्र विभिन्न ऐतिहासिक स्रोतका आधारमा प्राचीन महत्व बोकेको क्षेत्रको रुपमा चिनिन्छ । हालसम्म प्राप्त स्रोतहरुलाई विश्लेषण गर्दा यो क्षेत्रमा लिच्छविकालीन बस्ती थियो भन्न सकिने आधारहरु रहेको छ । इतिहास अध्ययनका साहित्यिक स्रोत र पुरातात्विक स्रोत एवं विदेशी यात्रीहरुको यात्रा वृत्तान्तलाई समेत

आधार मान्दा यो क्षेत्रमा प्राचीनकालदेखि नै बस्ती विकासक्रम चलिरहेको पत्ता लगाउन सकिन्छ ।  पलाञ्चोक मन्दिरमा रहेको विजयस्वामिनीको संवत् ४२५ को अभिलेख, खोपासीमा रहेको शिवदेव प्रथम र अंशुवर्माको अभिलेख, नालामा रहेको शिवदेवको अभिलेख र भकुण्डेबेसीमा रहेको शिवदेव द्वितीयको अभिलेख पलाञ्चोक क्षेत्रको ऐतिहासिकता दर्शाउने पुरातात्विक प्रमाणहरु हुन् ।

शिवदेव द्वितीयकै पालामा पलाञ्चोकको दक्षिणी क्षेत्रमा एउटा अभिलेख भेटिएको छ । संवत् १३१ उल्लेख भएको सो अभिलेख एउटा शिवलिङ्गको पादपीठमा पाइएको हो । सो अभिलेखमा शिव मन्दिरको लागि गुठी राखिएको जग्गामा लिलिङ जस्ता शब्दहरु उल्लेख भएको छ । यस्ता, शब्दहरु किराँती भाषाबाट आएको हुनाले त्यो ठाउँमा पहिले किराँतबस्ती रहेको र किराँतकालमा प्रचलनमा रहेको ठाउँको नामलाई नै मान्यता दिएको हुनसक्ने अनुमान गर्न सकिन्छं ।

पुरातत्व विभागले गरेको उत्खनन्को क्रममा पलाञ्चोक क्षेत्रभित्रै पर्ने माल्टारमा लम्बाइ टुटेको र चौडाइ २२ सेन्टिमिटरको लिच्छविकालीन स्वरुपका इँटाहरु प्राप्त भएको पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्य र पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकद्वारा तयार पारिएको पाँचखाल उत्खनन्को प्रतिवेदनमा उल्लेख छ । यी प्रमाणहरुको आधारमा पलाञ्चोक क्षेत्र र पाँचखालमा लिच्छविकालीन बस्ती रहेको कुरा बुझिन्छ ।

लिच्छविकालका सामान्य घटनाक्रमको बारेमा मात्रै उल्लेख मिल्ने पलाञ्चोक क्षेत्रबारे पूर्वमध्यकाल र उत्तरमध्यकालसम्म आइपुग्दा भने धेरै प्रसंगहरु पाउन सकिन्छ । पूर्वमध्यकालीन समयको पलाञ्चोक क्षेत्रका बारेमा गोपाल वंशावलीमा समेत उल्लेख गरिएको छ ।

धनवज्रबज्राचार्यद्वारा प्रकाशित गोपालराज वंशावलीको संक्षिप्त विवेचनामा अभयमल्लको शासनकालमा सबैभन्दा बढी गडबडीको केन्द्रको रुपमा पलाञ्चोकलाई चिनाइएको छ। नेपालसंवत् ३५० देखि ३७५ सम्मको समयावधिमा यस क्षेत्रमा यावत लडाइँको श्रृङ्खला चल्यो । वंशावलीको पत्र ३३ मा नेपाल संवत् ३६४ (वि.सं. १३०१) मा पलाञ्चोकको लडाइँमा अभय महाथ काटिएको प्रसंग छ ।

त्यस्तै, १४ औं शताब्दीको मध्यतिर आइपुग्दा कुलीन मदनसिंह रामको उदय हुन्छ । यिनै शासकले पलाञ्चोकमा मदनेश्वर महादेव, त्रिपुरासुन्दरी र ताराको प्रतिमा स्थापना गरेको उल्लेख पाइन्छ । मदनसिंहले नै पलाञ्चोक भगवतीको दक्षिण पाखोमा पोखरी समेत बनाएका थिए । पछि त्यहीँ जलशयन नारायणको स्थापना गरेको अभिलेखीय प्रमाण पाइन्छ ।

तिनै मदनसिंह रामको पालामा नै चीनसँग सम्झौता गरिएको कुरा उल्लेख पाइन्छ । वि.सं. १४४७ आश्विन कृष्ण आंैसीका दिन भोट चीनसँग सो सम्झौता भएको थियो । यसले मदनसिंहको पालामा पलाञ्चोक क्षेत्रलाई एउटा स्वतन्त्र राज्यको रुपमा चिनाउने प्रयास भएको र त्यतिबेला नेपाल राज्यले समेत पलाञ्चोक क्षेत्रको राज्यलाई दबाउन नसकेको प्रष्ट हुन्छ । किनभने केवल सामन्तको हैसियतमा अर्काे देशसँग सम्झौता गर्ने प्रचलन नेपाली इतिहासमा अभ्यासमा आएको पाइँदैन । सो सम्झौताको समयमा नेपालका राजा जयस्थिति मल्ल भने पर्यवेक्षकको रुपमा उपस्थित थिए ।

मदनसिंहरामवद्र्धनपछि उनका छोरा शक्तिसिंहराम राजा भए । चिनियाँ ताङ वृत्तान्तले शक्तिसिंहरामले वि.सं. १४८४ सम्म नेपाल उपत्यकाको राजनीतिमा आफ्नो भूमिका खेलेको उल्लेख गरेको छ । यक्षमल्लको उदयसँगै उनीहरुको शक्ति क्षीण हुँदै गएको ‘पनौतीको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि’शीर्षकमा साफल्य अमात्यले प्राचीन नेपालमा लेख प्रकाशित गरेका छन् ।palanchok

शक्तिसिंहरामवद्र्धनलाई चीनका वादशाहले ‘वाङ शक्तिसिंहराम’ भन्ने उपाधिको साथमा सुनका मुद्रा र लुङ परमान पनि पठाएका थिए । अर्थात् चिनियाँ सम्राटले त्यतिबेला शक्तिसिंहरामलाई राजाको उपाधि दिएको थियो ।

त्यतिबेला शक्तिसिंहरामको राज्य हालको पलाञ्चोक क्षेत्रदेखि पाँचखालसम्म फैलिएको थियो । तर यक्षमल्लको उदयसँगै शक्तिसिंहरामको परिवार बिस्तारै कमजोर बन्न पुग्यो ।

कुनै समयमा स्वतन्त्र राज्य त कुनै समयमा नेपाल राज्यको अधिनमा रहेको यो क्षेत्रमा पाइएका विभिन्न अभिलेखहरु, त्यस क्षेत्रको बारेमा उल्लेख भएका वंशावलीहरु एवं विभिन्न राजाले पठाएको पत्रको आधारमा हामीहरुले यो क्षेत्रको गौरवशाली इतिहासलाई उतार्न सक्दछौं ।

३.२ मध्यकालमा पलाञ्चोक क्षेत्रको पुरातात्विक प्रमाण

मध्यकालीन समयसम्म आइपुग्दा पलाञ्चोक क्षेत्रमा बस्तीको विकास र राज्यको शक्तिसमेत क्रमिक रूपमा वृद्धि हुँदै गएको पाइन्छ । यही कालमा आइपुग्दासम्म पलाञ्चोक क्षेत्रका शासकहरुले काठमाडौंमा आएर अभिलेख राख्ने र काठमाडौंको राजनीतिमा समेत मुख्य भूमिका खेल्न थालेको विभिन्न अभिलेखीय प्रमाणमा उल्लेख छ ।

काठमाडौंको इटमबहालस्थित जयसिंहरामवद्र्धनको राज्यकालमा वि.सं. १४३९ मा एउटा अभिलेख स्थापना गरिएको छ । त्यस्तै, पशुपतिको पश्चिम र दक्षिण मूर्तिको पूर्वपट्टिको उत्तर दिशामा पनि जयसिंहरामवद्र्धनले अभिलेख राखेका छन् । सो अभिलेखमा पलाञ्चोक क्षेत्र र पलाञ्चोक भगवतीको उल्लेख गरिएको छ । त्यसमा भनिएको छ ‘…षट् शास्त्र जान्ने श्रीपलाञ्चोकको डाँडोको किल्लाभित्र श्रीत्रिपुरेश्वरी सिद्धपीठ र त्यहीँ श्रीमदनेश्वर स्थापना गरेका, ठूलोे पोखरीमा मण्डपसहित जलशयन नारायण स्थापना गरेका, सिम्बुको डाँडो महाविहारमा श्रीस्वयम्भूचैत्य जीर्णाेद्धार गरेका ठूला योगी सहजनारायण श्रीमदनरामवद्र्धन हुनुहुन्छ ।’

विस १४०६ मसिर २० मा मुसलमानको आक्रमण गरेर काठमाडौ धोस्तपारेर पशुपतिनाथ मन्दिरको मुख्य मुर्ति समेत दुई टुक्रा पारेको र  विस १४१७मा जयशिहराम वर्दनले पशुपतिनाथको मुख्यमुर्ति स्थापना गरी मन्दिर निर्माण गरेको पशुपतिनाथ भित्रको शीलालेखमा ऊल्लेख गरिएको छ चाख लाग्दो कुरा के छ भने पलाञ्चोक शहरमा नेपालको राजधानि भनाएका राजा जयसिहराम वरदनले काठमाडौको पशुपतिनाथ मन्दिरको वर्तमानमा भएको मुर्ति स्थापना गरि मन्दिर समेत बनाएको प्रमाण जिवन्त छदा छदै हाम्रो ईतिहासलाई बिगतमा किन पढ्न दिईएन अनेक प्रश्नहरु जन्मिएका छन।

यस अभिलेखले मदनरामवद्र्धनको समयदेखि नै काठमाडौं उपत्यकामा पलाञ्चोक क्षेत्रका शासकको प्रभाव धेरै रहेको बुझ्न सकिन्छ । मदनसिंहरामवद्र्धनले आफैंँले राखेको अभिलेखमा पनि पलाञ्चोक प्रदेशलाई पलखचो–राजदुर्ग भनेर उल्लेख गरेको कुरा पूर्णिमा पत्रिकाको ७ पूर्णाङ्कको ३४ पृष्ठमा उल्लेख गरिएको छ । पलखचो भन्ने शब्दलाई गोपालवंशावलीमा पनि विभिन्न स्थानमा उल्लेख गरिएको छ ।

यसबाहेक बनेपाको बछुटोलको नेसं ५३७ को अभिलेख, बनेपाकै एउटा सूर्यमूर्तिको पादपीठमा नेसं ५१४ मा राखिएको अभिलेखको आधारमा पनि त्यो समयमा ‘जयसिंहरामको पालामा मदनरामले पालन गरेको वर्णिकपुर(बनेपा)मा सूर्यदेवताको मूर्ति स्थापना गरेको’ भन्ने उल्लेख छ । सो अभिलेखमा उनीहरुले श्रीश्री को उपाधि लिएका छन् । यसले पनि सो समयमा उनीहरुको सोझै शासन रहेको अनुमान गर्न सकिन्छ । यस्तै, विभिन्न मध्यकालीन समयको अभिलेखको आधारमा पलाञ्चोक क्षेत्र सो समयमा बलियो राज्यको रुपमा स्थापित भएको मान्न सकिन्छ ।

३.५ साहित्यिक प्रमाणमा पलाञ्चोक क्षेत्रको उल्लेख

नेपाल संवत् ५३५ को आषाढ शुक्ल दशमीका दिन चीनका बादशाह तायीमिङले पलाञ्चोक क्षेत्रका राजा शक्तिसिंहरामलाई लेखेको पत्रमा पलाञ्चोक शहरको उल्लेख छ । वि.सं. १८२४ मंसिर ३ गते पृथ्वीनारायणशाहले भमरकोटका महादेवलाई गुठी थामी लेखेको पत्र पनि पाइएको छ ।

विभिन्न अभिलेखीय एवं साहित्यिक स्रोतको आधारमा साफल्य अमात्यले पनौतीको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि शीर्षकमा प्राचीन नेपाल (३०÷३९÷६)मा उल्लेख गरेअनुसार स्थितिमल्लका तीन छोराहरु जयधर्म मल्ल, जयज्योतिर्मल्ल र जयकीर्ति मल्लको संयुक्त शासनकालमा पनौतीका राजा रामवद्र्धनको परिवारले काठमाडौंको राजनीतिमा समेत बोलवाला चलाए ।

पन्ध्रौं शताब्दीको सुरु वि.सं. १४११ मा कर्नाट वंशीय स्थिति मल्लको विवाह रुद्र मल्लकी नातिनी राजल्लदेवीसँग भएपछि नेपाल उपत्यकाको इतिहासले बेग्लै मोड लिन पुग्यो । सुरुमा विरोधी पलाञ्चोक क्षेत्रका सामन्त शासक जयसिंहराम पनि उनको अधिनमा आएको भन्ने उल्लेख पाइन्छ । यद्यपि उनी र उनका भाइ रामवद्र्धनलाई बनेपा वरपर र पूर्वी नेपालका केही भागमा सोझै शासन गर्ने अधिकार दिइएको थियो । स्थिति मल्लपछि फेरि सो परिवारले आफ्नो स्वतन्त्र शासनलाई अघि बढाए । जयसिंह रामका छोरा थिएनन् । उनको मृत्युपछि उनका भाइ मदनसिंहका छोरा शक्तिसिंहराम सामन्त भए । यक्षमल्लको उदयसँगै उनीहरुको शक्ति क्षीण भएको पाइन्छ । त्यस्तै, गोपालवंशावलीमा समेत मध्यकालीन समयमा पलाञ्चोक क्षेत्रको बारेमा उल्लेख भएको पाइन्छ ।

 

खण्ड चार

पाँचखालभित्र रहेका धार्मिक, पुरातात्विक तथा ऐतिहासिक विवरण तथा जानकारी

४.१ नेपाल–चीन सम्बन्धमा पलाञ्चोकमा भेटिएको पहिलो प्रमाणिक दस्तावेज

नेपाल र चीनबीचको सम्बन्धबारे अनेक इतिहास छन् । इतिहासकारहरू यी दुई देशबीचको इतिहास चिनियाँ र तिब्बती वृतान्तमा मात्र आधारित रहने गरेको बताँउछन् । इतिहासकार दिनेशराज पन्त नेपालका प्रमाणिक दस्तावेजको अभावमा दुई देशबीचको सम्बन्धलाई भृकुटी र अरनिकोसँग मात्र जोडेर हेर्ने गरेको बताँउछन् । नेपाल र चीनबीचको सम्बन्ध यतिमै मात्र सीमित नरहेको इतिहासकारहरू बताँउछन् ।

नेपालमा पाइएको एउटा दस्तावेजले मात्र यसलाई प्रमाणित गर्दछ । विक्रम संवत् १४७२ मा चीनका बादशाह तायिमिङले कालको काभ्रेपलाञ्चोक जिल्लाअन्र्तगत पर्ने पलाञ्चोक उपत्यकामा राजधानी बनाई बसेका नेपालका राजा शक्तिसिंहरामलाई रञ्जना लिपि र संस्कृत भाषाको प्रयोग गरी पठाएको पर्वाना(पत्र) परराष्ट्र मन्त्रालयमा रहेको छ । जसलाई इतिहासकारहरू नेपालमै प्राप्त नेपाल–चीन सम्बन्धको पहिलो प्रमाणित दस्तावेजको रूपमा लिन्छन् । यो नै हालसम्म नेपालमै पाइएको एक मात्र प्रमाणित र सम्मानित दस्तावेज रहेको इतिहासकार पन्त बताउँछन् ।

‘त्यो समयमा नेपालकै रञ्जना लिपि र संस्कृत भाषा प्रयोग गरेर पठाएको पत्र नेपाल चीन सम्बन्धको महत्वपूर्ण दस्तावेज हो । चीन आफूलाई संसारकै शक्तिशाली मान्ने गथ्र्यो र महाचीनको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेको समय थियो,’ पन्तले भने । यस क्रममा चीनले नेपालका राजालाई असर्फी पठाई वाङ(राजा)को उपाधि दिइएको देखिन्छ । चीन शक्तिशाली रहेको समयमा नेपालको भाषा र नेपाल संवत्को प्रयोग गरी नेपालको सम्मान गर्नुलाई दुर्लभ इतिहास रहेको इतिहासकारहरू बताउँछन् । यसैको आधारका चीनसँगको सम्बन्धको अन्य आधार खोजिनुपर्ने इतिहासकार पन्त बताउँछन् । जुन पर्वाना हाल परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको छ । पत्रमा रञ्जना लिपिमा संस्कृत भाषाको प्रयोग गरी लेखिएको छ । त्यस्तै, पत्रमा नेपाल संवत्लाई महाचीन संवत् भनेर उल्लेख गरिएको छ ।

–चीनका बादशाहले नेपालकै रञ्जना लिपि, संस्कृत भाषा र नेपाल संवत्को प्रयोग गरी पठाइएको पर्वाना नेपालमै भेटिएको नेपाल चीन सम्बन्धको पहिलो प्रमाणिक दस्तावेज

–              नेपालमै पाइएको एक मात्र प्रमाणित र सम्मानित इतिहासकोे दस्तावेज ।

‘आकाशसम्म पुगेको र सुमेरु पहाडदेखि दक्षिण समुद्रसम्म मेरो प्रभाव फैलिएको छ, पश्चिम दिशामा रहेको आर्यावर्त नेपालको पलाञ्चोक सहरमा शक्तिसिंहराम तिमी रहेका छौ, तापनि आकाश समान हाम्रो विशाल दरबारको छत्रछायामा रहेको छु भनी ठान, तिमी हामीमा भक्ति राख्नेछौ, हाम्रै (बौद्ध) धर्म मान्दछौ, आफ्ना प्रजाको पालना गर्छौ भन्ने कुरा मैले सुनेको छु, वर्षांैपिच्छे दूत पठाएर, सरसौगात पठाएर हाम्रो सम्मान गरेकोले तिम्रो मन मैले बुझें, तिम्रो र हाम्रो हितचित्त मिलेको छ, यसकारण तिमीलाई वाङ (राजा)को उपाधि प्रदान गरी पठाएको छु । सुवर्ण मुद्रा (असर्फी) सुवर्णपत्र (सुनमसीले लेखेको पर्वाना) साथ तिंतासी र रिजिन नामका दूतलाई तिमीकहाँ पठाएको छु, यो बुझ जस्तो हामी तस्तै तिमी भनी ठानेर हाम्रो आज्ञा पालन गर्ने गर ।’

पलाञ्चोकमा पछिल्लो समय पुरातत्व विभागले उत्खननका क्रममा दरबारको भग्नावशेष पत्ता लगाएको छ । उत्खननमा संलग्न पुरातत्वविद् उद्धव आचार्य उत्खननका क्रममा पत्ता लागेका तथ्य र प्राप्त इतिहासका आधारमा विभिन्न तथ्यले शक्तिसिंहरामको शासन रहेको देखिन आएको बताउँछन् ।

४.२ पाँचखाल नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक कोटहरु

पाँचखाल नगरपालिका क्षेत्रभित्र विभिन्न ऐतिहासिक कोटहरु रहेका छन । यी कोटहरु नेपालको ईतिहासका विभिन्न कालखण्डमा निर्माण भएका देखिन्छन । प्राचीनकालदेखि नै शत्रुको आक्रमणबाट बच्नको लागि राज्यको चारैतिर कोटको निर्माण गर्ने प्रचलन चलेको देखिन्छ । यही सिलसिलामा पलाञ्चोक क्षेत्रमा समेत विभिन्न कोटहरुको उल्लेख पाइन्छ । अहिलेसमेत धेरै कोटहरुको नाम पुरानै नामबाट उल्लेख भएको पाइन्छ । कोट दूर्ग आदि प्राचीनकालमा शक्तिशाली राजाहरुले आफनो सुरक्षाको लागि खडा गर्ने संरचनाहरु हुन् ।

 

४.३ कोटहरुकोे ऐतिहासिकता

लिच्छविकालका अभिलेखमा आएका किराती भाषाका शब्दहरुको आधार लिई ऐतिहासिक धनवज्र वज्राचार्यका विचारमा पलाञ्चोक प्रदेशमा किरातकालिक विकसित बस्ती थियो । नाला, पनौती, कुशेश्वर, भकुण्डेबेसी, दाप्चा, तिमालबेसी, पलाञ्चोक, खोपासी, दुग्धेश्वर, गढीघाङ, नमोबुद्ध क्षेत्रहरुमा लिच्छविकालदेखिका प्रमाणहरु पाइएका छन् । पलाञ्चोकमा मानदेवका पालाको संवत् ४२५ तदनुसार वि.सं. ५६० को विजयस्वामिनीको अभिलेख, दुम्जा कुशेश्वरमा अशुंवर्माको अभिलेख, खोपासीमा शिवदेव र अंशुवर्माको संवत् ५२० तदनुसार वि.सं. ६५५ को अभिलेख,  नालामा द्वितीय शिवदेवको संवत् ११८ तदनुसार वि.सं. ७५३ को अभिलेख भण्कुण्डेबेसीमा द्वितीय शिवदेवको संवत् १३१ तदनुसार वि.सं. ७६४, को अभिलेख प्राप्त भएका छन् ।

मध्यकालमा उपर्युक्त अधिकांश बस्तीहरु नगरमा विकसित भएका थिए । नेपाल संवत् ५३५ तदनुसार वि.सं. १४७२ आषाढ शुक्लदशमीको दिनमा चीनका बादशाहबाट शक्तिसिंहरामरालाई लिखित पत्रमा पलाञ्चोक शहरको उल्लेख परेको छ । मध्यकालिक नेपालको शासन व्यवस्थामा महत्वपूर्ण स्थान ओगटेका ऐतिहासिक पात्र शक्तिसिंहरामको गृहस्थानको नाम चीनका बादशाहको पत्रमा उल्लेख हुनुले पलाञ्चोक शहर त्यो समयमा निकै विकसित रहेको तथ्य खुल्दछ ।

दुर्ग, किल्ला, कोट, गढी, गढ, क्वाठ, राजधानी सुरक्षावाचक पर्यावाची शब्द हुन् । आजभोलि कोट र गढी शब्द नै बढी प्रचलित छन् । जसको सम्बन्ध युद्धसँग हुन्छ । दुर्गद्वारा राजा, जनता र धनको सुरक्षा हुन्छ । जहाँ शत्रु सेनाहरु पुग्न कठिन हुन्छ । एक धनुषधारीद्वारा सय धनुषधारी र सय धनुषधारीद्वारा सहस्र धनुषधारीलाई मार्न सकिने सिद्धान्तमा आधारित भई  दुर्गको निर्माण गरिएको हुन्छ । कौटिल्यले चार प्रकारका दुर्गहरुको उल्लेख गरेका छन्

ड्ड     औदक– चारैतिरबाट जलले घेरिएको द्वीप जस्तो

पार्वत– पहाड तथा गुफा ।

ड्ड     वनदुर्ग– वनजंगल घेरिएको, जल–जनावर

धान्वन– मरुभूमि, जलविहीन भूमि, उनुर्वर भूमि ।

मनु, शान्तिपर्व, विष्णुधर्मसूत्र, मत्स्यपुराण, विष्णुधमोत्तर, शुक्रनीतिसारले ६ प्रकारका दुर्गहरुको वर्णन गरेका छन् ।

(क) धान्व दुर्ग– जलविहीन दुर्ग

(ख) महीदुर्ग– स्थल दुर्ग, प्रस्तर तथा इटाबाट निर्माण गरिएका जुन १२ फुटभन्दा अधिक चौडा

र चौडाईभन्दा दुई गुणा लामो हुन्छ  ।

(ग) जलदुर्ग– चारैतिर जल आवृत्त भएको ।

(घ) वनदुर्ग– चारैतिरबाट एक योजन जंगल (ठूला वृक्ष, झाँडीबाट आवृत्त ।

(ङ) नृदुर्ग– कुशल सैन्यबलबाट चारैतिरबाट सुरक्षित ।

(च) गिरिदुर्ग– पहाडको टाकुरा अथवा शिखरमा बनाइएको, कठिन परिश्रमले मात्रै जान सकिने, एउटा मात्रै बाटो भएको ।

मनुस्मृतिले गिरिदुर्गलाई सर्वश्रेष्ठ भनेका छन् भने शान्तिपर्वमा नृदुर्गलाई सर्वोत्तम मानिएको छ । दुर्गभित्र प्राचीन ग्रन्थहरुमा दुर्गमा पर्याप्त आयुध, अन्न, औषधि, धन, घोडा, शिल्पकार, हतियार, पानी, सुरङ मार्ग (आकस्मिक सुरक्षासहित निसक्नका लागि) र अत्यावश्यक सामग्रीहरुको व्यवस्था गरिएको हुन्छ । गढीमा आउन जान विशेष नियम हुन्थ्यो अर्थात् पूर्वनिधारण गरिएका कुनै चिन्ह, संकेत र हुलिया आश्वयक हुन्थ्यो । जहाँ सुरक्षा सम्बन्धी कडा नियमहरु बनाइएका हुन्थे ।

 

४.४ प्राचीन नेपालमण्डलमा कोटको स्थापत्य

नेपाल उपत्यकाका स्वयम्भूनाथ, आदिनाथ, चाँगुनारायण, वज्रयोगिनी आदि प्रसिद्ध देवस्थलहरु वनदुर्ग रुपका थिए । प्रसिद्ध देवमन्दिरहरुमा भक्त राजा प्रजाले चढाएका कोष जम्मा हुन्थे । सुरक्षाको प्रबन्ध नगरे देवस्व लुटिने डर हुन्थ्यो । सुरक्षाका लागि वनदुर्ग रुपका स्थानमा देवताहरु स्थापना गरिएका देखिन्छन् । कोटभित्र बस्ती पनि हुन्थ्यो, खेती पाती पनि हुन्थ्यो । कोटको सीमा निश्चित हुन्थ्यो । कोटको सीमामा बस्नेका लागि विशेष सुविधा दिइन्थ्यो । कोट कायम गरिएको क्षेत्रबाट वन नास्न मास्न पाइँदैन थियो । वनदुर्गको समेत रक्षा प्रबन्धका  विशेष व्यवस्था गरिएको ब्यहोरा चाँगुको शिवदेव र अंशुवर्माको अभिलेखमा उत्कीर्ण छ ।

४.५ पलाञ्चोकका कोटहरु

प्राचीनकालदेखि नै शत्रुको आक्रमणबाट बच्नको लागि राज्यको चारैतिर कोटको निर्माण गर्ने प्रचलन चलेको देखिन्छ । यही सिलसिलामा पलाञ्चोक क्षेत्रमा समेत विभिन्न कोटहरुको उल्लेख पाइन्छ । अहिलेसमेत धेरै कोटहरुको नाम पुरानै नामबाट उल्लेख भएको पाइन्छ । कोट दूर्ग आदि प्राचीनकालमा शक्तिशाली राजाहरुले आफनो सुरक्षाको लागि खडा गर्ने संरचनाहरु हुन् । पलाञ्चोक क्षेत्रमा रहेका कोटहरु ःनगरकोट, काभ्रेकोट, होक्सेकोट, ठूलीकोट, तेमालकोट, अनैकोट, भमरकोट, फूलबारीकोट, पृथ्वीकोट, शारदाकोट, पलाञ्चोककोट, चौकोट, नालाकोट, फस्कोट, बुचाकोट, कास्कोट, लास्कोट, सल्लेकोट, गोल्माकोट, घ्याङगढी, मेथिनकोट, धुवाँकोट, कोटखेल, बखुण्डोल, नागीडाँडा, बेथानकोट, दाप्चाकोट, रानोकोट, कोटकालिका, सुलिकोट, ज्यामिरकोट, नाल्दुमकोट, अग्लेकोट, बेलाकोट आदि कोटहरु रहेका छन् ।

प्राचीन पलाञ्चोक प्रदेशका ऐतिहासिक कोटहरु गिरिदुर्ग र वन दुर्गको मिश्रित वास्तु सिद्धान्तमा स्थापत्य भएका छन् । पहाडको माथिल्लो भागमा र वनजंगलको बीचमा छन् । अधिकांशमा ५÷६ फिट चौडा ८÷१० फिट गहिराईका वृत्ताकार स्वरुपमा छन् । कोटको माथिल्लो भागमा प्रस्तर एवं इटाका संरचनाहरु भग्नावशेषहरु छन् । कुनै पनि स्थानमा समीपमा दुई, तीन वटासम्म कोटहरु  स्थापत्य छन् । कतिपय कोटका वरपरका जगसहितका भौतिक अवशेषहरुले पुरानो बस्ती समेत रहेको आभास हुन्छ ।

प्राचीन पलाञ्चोक प्रदेश अन्तर्गत नगरकोट, काभ्रेकोट, होक्सेकोट, ठूलीकोट, तेमालकोट, अनैकोट, भमरकोट, फुलबारीकोट, काभे्रकोट, पृथ्वीकोट, शारदाकोट, पलाञ्चोककोट, चौकोट, नालाकोट, फस्कोट, बुचाकोट, कास्कोट, लास्कोट, सल्लेकोट, घ्याङगढी, मेथिनकोट, धुवाँकोट, कोटखेल, बखुन्डोल, नागीडाँडा, बेथानकोट, दाप्चाकोट, रानीकोट, कोटकालिका, सुलिकोट, ज्यामिरकोट,  नाल्दुमकोट, अग्लेकोट आदि कोटहरु रहेका छन् ।

४.५ स्थलगत अध्ययन गरिएका कोटहरुको विवरण

भमरकोट

भमरकोट गिरिदुर्गको रुपमा स्थापत्य छ । स्थानीयका अनुसार यहाँ किँरात राजाको दरबार थियो । वि.स. १८२४ माघ ३ गते पृथ्विनारायण शाहको भमरकोटका महादेवलाई गुठी थामि पत्र लेखिदिएको समेत पाईएको छ । पत्रमा महादेवको पुजा गर्न,देवल पाटी हेर्न,विग्रँदा बनाँउन र यो बेचविखन गरि नखानु तथा अंशबण्डा नगर्नु भनि गुठि राखिएको पाईएको छ ।

यसको नाम भमरकोट कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न तथ्यहरु रहेका छन । कृष्णप्रसाद पराजुलीद्धारा लिखित पुस्तक ‘पूर्व एक नम्बर’ मा पहिले यसको नाम भ्रामरिकोट,भ्रमपुर वा भ्रमरकोट हुँदै भमरकोट भएको हुनसक्ने तर्क प्रस्तुत गरेका छन । तर यसबारेकोे कुनै विवरण पाउन सकिएको छैन । भमरकोटको इतिहास आज पनि अज्ञात छ । स्थानीयका अनुसार बारी खन्ने क्रममा भमरकोट पर्वतको चारैतिर ठूलो संख्यामा इटाका अवशेषहरु भेटिएका छन् । इटाका अवशेषको प्राप्तिले यहाँ कुनै बेला सम्भ्रान्त बस्ती थियो भन्ने रहस्य खुल्दछ । कोटको शिरानमा देवीको साधारण मन्दिर स्थापत्य छ । यस कोटभन्दा तल मध्यकालमा निर्माण भएको गणेश मन्दिर र भीमसेन मूर्ति (पाटी नाश भइसकेको) महत्वपूर्ण सम्पदा हुन् । यस कोट वरपर स्थानीयहरुले चाँदीका मल्कालिक मुद्राहरु भेटाएका छन् । प्राप्त इटाका भग्नावशेषहरुले मध्यकालमा भमरकोटको प्रसिद्धि झल्किन्छ ।

हाल यस कोटमा भ्यू टावर र खानेपानी ट्याङ्की निर्माण गरिएका छन् । भ्यू टावर र खानेपानी ट्याङ्कीको जग खन्दा ढुंगा र इटाको भौतिक संरचनासहित पर्खाल भेटिएता पनि त्यसलाई समेत बिगारेर निर्माणकार्य सम्पन्न गरिएका थिए । भमरकोटको पश्चिम सम्मुखमा रहको अर्को शिखरमा देवी मन्दिर रहको छ । दुःखको कुरा स्थानीयका अनुसार देवी मन्दिरको मूल मूर्ति तीन दशक अगाडि चोरी भएको थियो । पछि नयाँ मूर्ति राखी आधुनिक शैलीमा मन्दिरको निर्माण गरिएको छ ।

पलाञ्चोक कोट

पलाञ्चोक भगवतीबाट पूर्व कालिका मन्दिरबाट पश्चिम बीचको सबैभन्दा अग्लो थुम्कोलाई नै पलाञ्चोक कोटलाई नै को रुपमा चिनिन्छ ।सम्राट गृहपतिकी पत्नी विजयास्वामिनीले राजा मानदेवका पालामा पलाञ्चोक विजयश्वरी देवीको प्रतिष्ठा गरेकी थिइन् । गोपालवंशालवीमा वर्णित घटनामा पलाञ्चोक क्षेत्र सांग्रामिक दृष्टिकोणले महत्वपूर्ण रहेको थियो । पलाञ्चोक भगवती र  काठमाडौँ इटुम्बहालको मदनरामको वि.सं. १४३९ को शिलालेखमा  श्रीपलखोच गिरि शिखर राजदुर्ग स्थान भनिएको छ । भगवती मन्दिरको स्थापना र अभिलेखको उपलब्धताले प्राचीनदेखि यस स्थानमा कोट रहेको संकेत गर्दछ । अहिले कोटको अस्तित्व खानेपानी ट्याङ्की र टेलिकमका टावर निर्माण भई नासिन गएको छ । यस क्षेत्रमा टावर र ट्यांकि निर्माणका क्रममा फेला परेका पुरातात्विक सामग्रीहरु अझैपनि स्थानीयसँग सुरक्षित रहेका छ । यस क्षेत्रको थप उतखननको आवश्यकता देखिन्छ ।

घ्याङगढी( अनैकोट)

तामाङ भाषामा डाँडालाई घ्याङ भनिन्छ । डाँडामा भएकोले यसलाई घ्याङगढी भनिएको छ । घ्याङगढी पाँचखाल नगरपालिका वडा नं. १ (साविक अनैकोट गा.वि.स.) पर्छ । काठमाडौँबाट भोट जादा राजकीय सुरक्षाका लागि यो घ्याङगढी निर्माण गरिएको देखिन्छ । यसदेखि पश्चिमतिर तिरतिरे धारा थियो । बाटो निर्माणको क्रममा यो धारा मासिएको छ । स्थानीयका अनुसार मेलापात÷चरिचरन गर्न जाँदा तिरतिरे धाराभन्दा माथि काठमाडौँ उपत्यका निस्कने उकालो बाटोमा ठाउँठाउँमा  इटाको विछ्याइएका देखिन्थे । घ्याङगढीमा सँगसँगै दुई वटा कोट रहेका छन् ।

कोटमा ढुंगा निर्मित संरचनाका अवशेषहरु देखिन्छन् । दुवै कोट राम्रो अवस्थामा छन् । कोटभन्दा उत्तरतिर केही तल डोजरले मोटरबाटो खन्ने क्रममा एउटा माटोको भाडामा दुई पाथी लिच्छविकालिक मुद्रा भेटिएका थिए । स्थानीयका अनुसार मुद्राको भाडा जमिनबाट करीब ६÷७ फिट तल गाडिएको अवस्थामा थियो । मुद्राको प्राप्तिले समेत घ्याङगढी लिच्छविकालदेखि नै अस्तित्वमा थियो भन्ने बल पुग्दछ । यस स्थानबाट १ कि.मी. उत्तरपूर्व गुम्बाघ्याङ र १.५ कि.मी. मा मानेघ्याङ रहेका छन् । गुम्बाघ्याङमा खानेपानी ट्याङ्की बनाएर अवशेष नामेट भइसकेको छ । अतिक्रमणले मानेघ्याङमा सानो थुम्को मात्र बाँकी छ ।

मानेघ्याङको नामबाट बस्तीको नाम मानेगाउँ रहन गएको छ । यस मानेगाउँमा थुप्रै मूर्तिहरु रहेकोमा अहिले एउटा मात्र मूर्ति देख्न सकियो । यद्यपि यो देवताको नाम पहिचान गर्न सकिएन । यसै ठाउँबाट लगिएको भनिएको एउटा असाध्यै राम्रो मुख टुटिसकोको भैरव मूर्ति छ । प्राप्त मूर्तिहरु मध्यकालिक कला विशेषताले भरिएका छन् । धारा, मूर्ति तथा गुम्बाको अवस्थितिले मध्यकालसम्म यो गढी निकै चल्तीमा थियो भन्न सकिन्छ । मानेगाउँबाट दुई कि.मी. तल पाँचखाल नगरपालिका वडा नं. १ को कार्यालय रहेको स्थानलाई अनैकोट भनिन्छ । तर अनैकोटमा कोटको संरचना अहिले देखिँदैन । अर्थात् अनैकोट पनि मासिसकेको प्रतीत हुन्छ ।

४.६हाल गढीहरुको अवस्था

प्राचीनकालदेखि गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय नगर्दासम्म काभ्रेपलाञ्चोकका कोटहरु पनि उपयोगमा थिए । पृथ्वीनारायण शाहको उपत्यका विजयपश्चात् कोटहरु उपादेयता सकिएको थियो र तिनको रक्षा प्रबन्ध पनि हुन छाड्यो । करीब २५० वर्षभन्दा बढी समयदेखि कोटहरु सुरक्षा विहिन अवस्थामा रहेका छन् । डाँडाको टुप्पो तथा शिखरहरुमा टेलिकम टावर, खानेपानी ट्याङ्की, आधुनिक मन्दिर निर्माण कार्य हुँदा कोटको ऐतिहासिकतालाई आँखा चिम्लिएर भौतिक निर्माण गरिएका छन् । यसले कोटको वास्तुकला नास हुन गएको छ । कतिपय कोटहरुमा बाटोसहितका भौतिक निर्माण गर्दा खाइहरु मेटिएका छन् । खाइहरुमा झार उम्रिएका छन् । केही कोटहरु नासिसकेका छन् । कोटहरुमा भएका परम्परागत मन्दिर भत्काएर नयाँ मन्दिर बनाइएका छन् । नयाँ निर्माण गरिएका सबै भौतिक संरचनाहरु आधुनिक शैलीका छन् ।

नेपाल एकीकरण पश्चात कोटहरुको उपादेयता र सुरक्षा प्रबन्ध समाप्त भएको थियो । त्यसबेलादेखि कोटहरु प्रकृतिमा निर्भर रहेका थिए । भौतिक पूर्वाधारका आधुनिक संरचनाहरु निर्माण भएका क्षेत्रमा कोटलाई मौलिक स्वरुपमा फर्काउन कठिन छ । बाँकी रहेका रहेका कोटहरुलाई अझै पनि परम्परागत विधिद्वारा संरक्षण गर्न सकिने आधार प्रशस्त छन् । यस कार्यका लागि सबैभन्दा पहिला कोटहरुमा थप विकास निर्माणका कार्यहरुलाई तत्काल रोकी ड्रइङ डिजाइनसहित डिजिटल अभिलेखीकरण गरी के कसरी तिनको वैज्ञानिक संरक्षण गर्न सकिन्छ त्यस अनुरुप कार्यचित्र बनाउन अपरिहार्य छ । कोटहरु अतिक्रणबाट पर्दै जानु ठूलो चुनौति देखिएको छ । अतिक्रमणबाट रोक्न सर्वप्रथम कोटको जग्गा संरक्षण गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

४.७प्राचीन कालको पुरातात्विक प्रमाणका आधारमा पलाञ्चोक क्षेत्रको महत्व

पलाञ्चोकको प्राचिन नाम पिराकचो ,पिराखचा,पराख्चो हुँदै पलाञ्चोक रहन गएको पूर्व एक नम्बर पुस्तकमा उल्लेख गरिएको छ । पलाञ्चोक पााचखालबाट ७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । पलाञ्चोक ५१२६ फिट उचाईमा पर्दछ । लिच्छविकालमा राजा मानदेवद्धारा निर्माण गरिएको ख्यातिप्राप्त भगवतिको मन्दिर पनि यसै क्षेत्रमा पर्दछ । भगवति मन्दिरमा झण्डै तीन फिट अग्लो भगवतिको मुर्ति रहेको छ ।

पुरातात्विक प्रमाणअन्तर्गत् अभिलेख, शिलास्तम्भ, ताम्रपत्र, स्वर्णपत्रजस्ता कडा वस्तुमा लेखिने सामग्रीहरु पर्दछन् । यस क्षेत्रमा विभिन्न कालखण्डका शिलालेख पाइएको छ भने यही क्षेत्रमा भएको उत्खनन्बाट पनि केही तथ्यहरु प्राप्त भएको पाइन्छ ।यसक्षेत्रमा ताम्रपत्र र स्वर्णपत्रका प्रमाणहरु पाइएको छैन । यद्यपि, यस क्षेत्रमा सबैभन्दा धेरैमात्रामा अहिले पाइएको भनेको अभिलेखीय प्रमाणहरु नै हुन् । नेपालको लिच्छविकाल र मध्यकालको अवस्थालाई हेर्दा काठमाडौं,पलाञ्चोक भगवती, नाला, पनौती, बनेपा र साँगामा विभिन्न कालखण्डमा राखिएका अभिलेखमा पलाञ्चोक क्षेत्रका बारेमा उल्लेख गरिएको पाइन्छ । ती निम्नानुसार छन् ।

प्राप्त विवरणअनुसार पलाञ्चोक क्षेत्रको पुरातात्विक प्रमाण संवत् ४२५ को अभिलेखसँगै सुरु हुन्छ । यो अभिलेख पलाञ्चोक मन्दिरको दक्षिण पश्चिम कुनामा पाइएको हो । हिमवत्संस्कृति १ मा योगी नरहरिनाथद्वारा छापिएको यो अभिलेख इतिहास संशोधनको ४७ क्रमागत संख्यामा धनवज्र बज्राचार्यले छपाएका हुन् । सो अभिलेखमा भनिएको छ ः

संवत् ४२५ वि।स ५६० माघ शुक्ल पूर्णिमाका दिन भट्टारक (गद्दीनशीन) महाराज श्रीमानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएको बेला सम्राट गृहपतिकी पत्नी विजयस्वामिनीद्वारा भगवती विजयेश्वरीदेवीको प्रतिष्ठा गरियो ।

यो अभिलेख विजयस्वामिनी नामकी एक महिलाले राखेकी हुन् । यस अभिलेखमा उनले आफूलार्इ सम्राट गृहपतिकी पत्नीको रुपमा चिनाएकी छन् । यो अभिलेख मानदेवले शासन गरेको समयमा राखेको समेत उल्लेख गरिएको छ । अभिलेखमा उल्लेखित‘सम्राट गृहपति’ कुनै राजसम्राट नभई अभिलेख राख्ने विजयस्वामिनीका श्रीमान् हुन् भन्ने धनवज्र बज्राचार्यको मत छ । तिनै विजयस्वामिनीले पलाञ्चोक भगवतीको मूर्ति स्थापना गरेको भन्ने अभिलेखीय प्रमाण पाइन्छ। यो नै अहिलेसम्म प्राप्त भएको पलाञ्चोक क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो । बिजयस्वामिनिले  वि स५६० मा पलाञ्चोकमा राखेको शिलापत्र नै ससारमा महिलाहरुको नाम अङ्कित गरिएको पहिलो शिलापत्र हो भने ससारमै शाक्त धर्मको पहिलो र सबै भन्दा प्राचिन  शिलापत्र नै पलाञ्चोक भगवतिमा रहेको शिलापत्र हो। त्यसै गरि ससारमा पहिलो पटक शिलापत्र लेखाउने र शिलापत्रमा महिलाको नाम लेखाउने  महान देवि पनि बिजयस्वामिनि हुन उनले पलाञ्चोक शहरमा  राजसु यज्ञ सम्मपन्न गरी बिजेश्वरी भगवति हालको पलाञ्चोक भगवतिको स्थापना गरेकि थिईन, ससारमै पहिलो पटक महिलाले राजसुयज्ञ सम्पन्न गरेको पहिलो बिश्व घटना पनि पलाञ्चोकको अभिलेख हो। पलाञ्चोक भगवतिको लिच्छविकालिन शिलालेखमा उल्लेख भए अनुसार पलाञ्चोक शहरमा वैदिकशिक्षाको उच्चतम् अभ्यास भएको ऊल्लेख भएपछि हालको पाचखाल नगरपालिकामा लिच्छिवकालमै विश्व विद्यालय तहको शिक्षालय स्थापना भएको सकेत मिल्द छ।

यो अभिलेखले केहीकेही नयाँ तथ्य समेत उद्घाटन गरेको छ । एकातर्फ यो समयमा मानदेवको शासन पलाञ्चोकसम्म पुगेको कुरालार्इ यही अभिलेखलेपुष्टि गरेको छ भने मानदेव राजा भएको समयमा सो अभिलेख राखिएकोले अभिलेखमा उल्लेख भएको सम्राट शब्द कुनै पदवीको अर्थमा नभई नामविशेषको अर्थमा उल्लेख गरिएको बज्राचार्यको मत छ । धनवज्र बजा्रचार्यको मतमा पलाञ्चोकमा हालसम्म प्राप्त अभिलेखमध्ये सबैभन्दा पुरानो मानिएको यो अभिलेख राख्न लगाउने विजयस्वामिनी समेत सर्वसाधारण व्यक्ति हुन् ।

लिच्छविकालीन समयमा दुई पक्षबाट अभिलेख राख्ने गरेको प्रचलन पाइन्छ । एउटा राजपरिवारका सदस्यहरुको तर्फबाटर अर्काे सर्वसाधारणलाई समेत अभिलेख राख्ने छुट थियो । राजपरिवारबाहेक सर्वसाधारणले राखेका अभिलेखहरुको प्रमाण खोज्दा देउपाटनको रत्नसंघको अभिलेख, टेबहालको गृहमित्रको अभिलेख, खपिंछेको वसन्तदेवको अभिलेख, बूढानीलकण्ठको मनुदेवको अभिलेख आदि रहेका छन् । त्यसैले पनि यो अभिलेख पनि बज्राचार्यको मतानुसार कुनै सम्राटकी पत्नीको नभई साधारण व्यक्ति गृहपतिकी पत्नीले राखेको मतलाई बलियो बनाएको छ ।

४.९ पलाञ्चोक क्षेत्रको उत्खनन्बाट प्राप्त प्रमाण

पुरातत्व विभागले पाँचखाल नगरपालिकाको वडा नं ७ मा रहेको माल्टार र श्रीरामपाटीमा २०७६ जेठ महिनामा उत्खनन् गरेको थियो । सो उत्खनन्को क्रममा यकिन रुपमा लिच्छविकालिन ईटाहरु, र पुर्व मध्यकालका प्राचिन भुमिगत पाईप लाईन भेटिएको उत्खनन्पछि विभागमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन अनुसार इँटाको आकारको आधारमा केही इँटा लिच्छविकालको बाँकी इँटा १३ औ १४ औं र १५ औं शताब्दीको भएको उल्लेख छ ।

४.९ पाँचखाल नपा १३ तिमालबेसीमा भेटिएको लिच्छविकालि स्तम्भ

सुनकोशीको तिरैतिर दोलाघाट–कुशेश्वर जोड्ने प्राचीनबाटो छ । यस बाटोको मध्यबिन्दु तिमालबेसी सुनकोशीको तिरमा एउटा मन्दिर थियो । सुनकोशी नदीको वहाबले मन्दिर संयौँ वर्ष अघि

बगाएको थियो । बावु बाजेको पालामा सुनकोशीको किनाराबाट स्थानीयले एउटा कलात्मक प्रस्तर बोकी पीपल चौतारीमा गाडेका थिए । पीपल चौताराबाट मन्दिर रहेको भनिएको स्थान करिब २०० मीटर पूर्वोत्तर सुनकोशीको किनारामै पर्दछ

पाँचखाल नगरपालिका–१३ तिमालबेसीमा भेटिएको प्राचीन स्तम्भ लिच्छविकालिन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । विभागले ७ महिना लामो अनुसन्धान पश्चात निकालेको प्रतिवेदन मार्फत यस्तो पुष्टि गरेको हो । ८ महिना अघि पुरातत्व विभागबाट अभिलेख खोज तथा अध्ययनका लागि खटिएको टोलीले सो स्तम्भ फेला पारेको  थियोे । स्थानीय अभियान्ता श्रीकृष्ण धिमाले सो स्तम्भ किराँतकालीन भएको दाबी गर्दै आएका थिए ।

प्रतिवेदनमा भनिएको छ,‘यो स्तम्भ मन्दिर वास्तुकलाको महत्वपूर्ण एउटा अंग मान्न सकिन्छ । यस स्तम्भको प्राप्तिले हराएको एउटा सभ्यता एवं स्मारक खोजी गर्ने आधार प्रशस्त गरिदिएको छ ।’ साथै सुनकोशी नदीको मानव सभ्यताको प्राचीनता, स्तम्भको कुन समयको हो ,स्तम्भको शैलीको कस्तो वास्तुकलाको अंग लगायतका प्रश्नहरुको उत्तरसहित इतिहासको गर्भमा रहेको सुनकोशी सभ्यता एवं पुरातात्विक क्षेत्रको खोजीका लागि विशेष प्रविधि सहित अध्ययन अन्वेषण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

स्तम्भ भेटिएको स्थान सुनकोसी नदी र झिकुखोलाको दोभानमा पर्छ ।तिमालबेसी कोसी नदी उत्पतिसँगै कौसिकी ऋषिले तपस्या गरेको स्थानको भएको किंवदन्ती रहेको छ । यस स्थानमा प्राचीन कालदेखिका धेरै देवीदेवताका मूर्ति र महत्वपूर्ण सम्पदाहरु समेत  भेटिँदै आएका छन । तिमालबेसीको पीपलको चौतारामा रहेको प्रस्तरको सो कलात्मक स्तम्भलाई स्थानीयहरुले भीमसेनको रुपमा पुज्दै आएका छन् ।स्तम्भ भेटिएको स्थानमा लिच्छविकालिन मुद्रा समेत फेला परेका थियो  । यस्ता छन विभागको अनुसन्धानबाट प्राप्त तथ्यहरु ः

स्थानीयले सुनकोशी किनाराबाट ल्याएर पीपल चौतारीमा राखेको प्रस्तरलाई भीमसेनको प्रतिक मान्दै आएका छन् । स्थानीयले त्यस पत्थरलाई प्रतिकात्मक भीमसेन मानेकोबाट समेत सुनकोशी तिमालबेसीमा भीमसेनको मन्दिर थियो कि भन्ने आशंका पैदा हुनजान्छ । त्यस क्षेत्रमा तामाङ, माझी, दनुवार, बाहुन, क्षेत्री, शिल्पी समुदायको बसोबास बसोबास छ ।

तामाङ, माझी, दनुवारहरु तिमालबेसीका रैथाने जाति हुन् । तिमालबेसीका बासिन्दासँग प्राप्त प्रस्तर संरचनाको प्राचीन सम्बन्धता खुल्न सकेको छैन । त्यस क्षेत्रमा बसोबास गर्ने समुदायले उक्त शिलालाई भीमसेनको रुपमा पुज्दै आएका छन् । यद्यपि बाहुन, क्षत्री, दलित समुदाय÷जाति अन्यत्रबाट बसोबास गर्न आएका हुन् । तर काठमाडौँ उपत्यकाको ऐतिहासिकता हेर्दा यस प्रस्तरसँग नेवार समूहको सानिध्यता जोडिएको आभास हुन्छ । यहाँको संरचना विलुप्त भइसकोको छ । सभ्यता हराइसेकेको छ । सम्बद्ध मानिसहरुको पनि परपम्परा नासिसकेको छ ।

४.९.१ सुनकोशी सेरोफेरोको ऐतिहासिकता

सुनकोशी तिमालबेसीको सेरोफेरोमा लिच्छविकालिक सभ्यताका प्रमाण (मूर्ति, अभिलेख) हरु प्राप्त भएका छन् । हिमवत्खण्ड अनुसार सुनकोशीलाई पहेलो वर्णको सुवर्ण कौशिकी नदी भनिन्छ । तामाङ समुदायहरु सुनकोशी नदीलाई गन्धी भन्ने गर्दछन् । गन्धीको अर्थ ठूलो नदी भन्ने हुन्छ । तिब्बती भाषामा छ्यु ङह्यान्पो भनिन्छ । छ्युको अर्थ पानी र ङह्यान्पोको अर्थ नाग हुन्छ । यस लिच्छविकालिक सभ्यताभित्र अभिलेख, मूर्ति सहितका तीर्थ तथा पुरावशेषहरु देखिन्छन् ।

प्राचीन अभिलेखको ऐतिहासिकता हेर्दा पश्चिममा पलाञ्चोकको मानदेवका पालाको संवत् ४२५ तदनुसार वि.सं. ५६० को विजयस्वामिनीको अभिलेख, दक्षिणमा दुम्जा कुशेश्वरको अशुंवर्माको अभिलेख र दक्षिणपश्चिममा भण्कुण्डेबेसीको शिवदेवको संवत् १३१ तदनुसार वि.सं. ७६४ का लिच्छविकालिक अभिलेख छन् । संवत् ३८६ तदनुसार वि.सं. ५२१ को चाँगुनारायणको मानदेवको अभलेखमा लिच्छविराज्यको पूर्वमा कोशी प्रदेशसम्म विस्तारित थियो । उपर्युक्त अभिलेख प्रमाणहरुले कम्तीमा पनि सुनकोशीसम्म लिच्छविराज्य बिस्तारित थियो भन्ने आधार मिल्दछ । कुशेश्वर र पलाञ्चोक महत्वपूर्ण तीर्थका रुपमा प्रसिद्ध छन् ।

४.९.२ प्रस्तर स्तम्भको कलाविशेषता

स्तम्भको सबैभन्दा माथिल्लो शिरानको भाग (खण्डित) साधा छ । शिरानभन्दा मुनि करिब ५ इन्ची अग्लाइका १६ खण्डहरुले गोलाकार परिधि निर्माण भएको छ । १६ खण्डभन्दा मुनि करिब १ से.मी गहिराई घेरा भएको भाग रहेको छ । यस घेराले स्तम्भलाई तल्लो र माथिल्लो दुई खण्डमा विभाजित गरिएको जस्तो देखिन्छ । सोपछि १ इन्च साधा गोलाकार परिधिको बीचबाट रेखा कुँदिएको छ । गोलाकार परिधिभन्दा तल थोरैभित्रबाट कमलका उल्टा पत्रहरु र ती पत्रैसँगै ६ इन्चभन्दा बढीसम्म फैलिएका लहराहरु कुँदिएका छन् । सबै लहराहरु समान आकारमा फैलिएका छन् ।

लहराहरु घुम्रिएको कपालको आकृति जस्तो मोहक देखिन्छ । स्तम्भको तल्लो भाग (८ इन्च जतिको अग्लाईमा) साधा गोलकार छ । स्थानीयका बुढापाकाहरुका अनुसार स्तम्भ जमिनभन्दा माथि देखिए जति नै जमिनमुनि गाडिएको छ । स्तम्भको जमिनमुनि गाडिएको खण्ड कस्तो स्वरुपको छ भन्ने बारेमा थप अनुसन्धान नभएसम्म यसै भन्न सकिने अवस्था नरहेको देखिन्छ ।

विभागले स्तम्भको आकृति, प्रकृतिको विश्लेषण गर्दा यो कुनै प्राचीन शिखरशैलीको मन्दिरको मूलद्वार अघिल्तिर रहने दुईटा थाममध्ये एक खण्ड हो भन्ने अनुमानसम्म गर्न सकिने जनाएको छ । पैतिवेदनमा भनिएको छ,‘यो स्तम्भ मन्दिर वास्तुकलाको महत्वपूर्ण एउटा अंग मान्न सकिन्छ । यस

स्तम्भको प्राप्तिले हराएको एउटा सभ्यता एवं स्मारक खोजी गर्ने आधार प्रशस्त गरिदिएको छ ।’ साथै सुनकोशी नदीको मानव सभ्यताको प्राचीनता, स्तम्भको कुन समयको हो ,स्तम्भको शैलीको कस्तो वास्तुकलाको अंग लगायतका प्रश्नहरुको उत्तरसहित इतिहासको गर्भमा रहेको सुनकोशी सभ्यता एवं पुरातात्विक क्षेत्रको खोजीका लागि विशेष प्रविधि सहित अध्ययन अन्वेषण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

 

 

४.९.३ सुनकोसी किनारमा भेटिएको ऐतिहासिक सामग्री

दोलालघाट र कुशेश्वरको बीचमा रहेको सुनकोसी नदीको किनारको पश्चिमपट्टिको फाँट पाचखाल नाप १३ तिमालवेसिनन मा एउटा कलात्मक स्तम्भ भेटिएको छ । अहिले स्थानीयले तिमालबेंसी भनेर चिन्ने सो ठाउँमा स्थानीयले खेत खन्ने क्रममा कोमदोही लिच्छविकालीन मुद्रा समेत भेटाएको पुरातत्व विभागले उल्लेख गरेको छ ।

निष्कर्ष

पलाञ्चोक क्षेत्रमा ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र  हो । लिच्छविकालसम्म ठुलो बस्ती थियो भन्ने मत धनवज्र बज्राचार्यको छ । यद्यपि खोपासी भनेर चिनिने तत्कालीन खुर्पासी, पनौती, नाला जस्ता क्षेत्रमा भने यसको तुलनामा केही कम बस्ती थियो भन्न सकिन्छ । मध्यकालमा भने यो क्षेत्र सांग्रामिक दृष्टिले महत्वपूर्ण स्थानको रुपमा विकास हुँदै गएको गोपाल वंशावलीमा उल्लेखित विषयबाट समेत प्रष्ट हुन्छ ।

पलाञ्चोक क्षेत्रमा पाइएको हालसम्मको सबैभन्दा पुरानो पुरातात्विक प्रमाण भनेको पलाञ्चोक मन्दिरको मूर्ति स्थापना गरी लिच्छवि राजा मानदेवको पालामा त्यहाँकी एक विजयस्वामिनी नामक महिलाले राखेको अभिलेख नै हो ।

यसपछिको क्रममा यही क्षेत्रअन्तर्गत् पर्ने खुर्पासी(खोपासी) मा रहेको शिवदेव र अंशुवर्माको अभिलेख हो । लिच्छविकालीन यी दुई अभिलेखलाई आधार मान्दा यो समयमा पलाञ्चोक क्षेत्र तत्कालीन नेपाल उपत्यकाको अधिनमा थियो भन्ने स्पष्ट हुन्छ । तर सोही राज्य मध्यकालसम्म आइपुग्दा भने एकपटक शक्तिशाली राज्यको रुपमा समेत विस्तार भएको देखिन्छ ।

सोही राज्यका अधिपति बनेका शक्तिसिंहरामवद्र्धनको चर्चा चीनसम्म पनि रहेको र चिनियाँ सम्राटले राजाको संज्ञा दिएकोबाट पनि मध्यकालमा यो क्षेत्र निकै शक्तिशाली रहेको कुरामा दुईमत छैन । नेपाल उपत्यकामा शक्तिशाली शासकले विशेष महत्वदिएर यस क्षेत्रलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरेका प्रमाणहरुको आधारमा पनि हामीले यो प्राचीन समयदेखि शासकले समेत विशेष महत्व दिएको क्षेत्रको रूपमा मान्न सकिन्छ ।

विभिन्न किराँतकालीन शब्द पाचखाल नपा ७मा  थाडापाथरा जुम्लेलि भाषामा थाडा भनेको घना बस्ति र, च्याङबारी( च्याङ भनेको किँरात भाषामा उर्बर खेतियोग स्थान हो) बाट राखिएका नामहरुले यसलाई लिच्छविकालभन्दा अघि पनि कतै त्यहाँ वस्ती त थिएन ? भन्ने बारेमा सोच्न बाध्य बनाएको छ । त्यसैले यसको लिच्छविकालभन्दा पुरानो समयको बारेमा थप अध्ययन गर्नुपर्ने देखिएको छ ।

यी सांस्कृतिक एवं पुरातात्विक महत्वको क्षेत्रलाई संरक्षण र संवद्र्धन गरी विभिन्न पर्यटकीय आकर्षणको केन्द्र बनाउने हो भने यसले यी क्षेत्रको संरक्षण एवं स्थानीय तहको आर्थिक स्रोत वृद्धिमा समेत योगदान दिने निश्चित छ ।

३.३ पलाञ्चोक क्षेत्रमा युद्ध र वीरता

पलाञ्चोकको युद्ध र वीरताको क्षेत्रमा पनि गौरवमय इतिहास रहेको पाइन्छ । शिवपुरीमा सेनाको लस्कर राखेर नुवाकोट आक्रमण गर्नुपूर्व पूर्वतर्फ पलाञ्चोक आक्रमण गर्ने योजना बनाएका थिए । त्यसको लागि चौतारिया दलजित शाह, काजी हक्र्या पन्थ, कपरदार भद्र शाही जेठाबूढा, रामकृष्ण कुँवर, वीरभद्र थापा, द्वार्या, थरथर, उमराउ, भूप्रतिमन अधिकारी र मान अधिकारी सिराञ्चोक भन्ने ठाउँमा कुरेर बसेको आधुनिक नेपालको इतिहासमा उल्लेख पाइन्छ । पलाञ्चोकमाथि भीमसेन थापाको नेतृत्वको लस्करले आक्रमण गरेको थियो ।

त्यतिबेला पलाञ्चोक राज्य पनि शक्तिशाली रहेको ऐतिहासिक प्रमाणमा पाइन्छ । पलाञ्चोक आक्रमणको लागि केही सैन्य शक्ति नेपालमा राज्यमा समेत राखिएको थियो । चौतारिया दलजित् शाह नेतृत्वको गोरखाली सेनाको ठूलो फौजले वि.सं. १८१९ माघ १ गते नवमी शुक्रबारका दिन काभ्रेकोट विजय गरे । पलाञ्चोक विजयअघि नै १८१८ जेष्ठशुदि ६ रोज २ का दिन रातमा चौकोट विजय गरेको विभिन्न साहित्यिक स्रोतमा उल्लेख पाइन्छ ।

 

२) राष्ट्रिय विभुति वीर बलभद्र कुबरको जन्म पाँचखाल भमरकोटमै भएको प्रमाण

अहिरामका छोरा रामकृष्ण कुबर पृथ्वीनारायण शाहका मुख्य सरदार र अन्तत काजि समेत बनेका थिए,पृथ्वीनारायण शाहको नेपाल पुन एकिकरणको क्रममा उपत्यका पुर्वको सागाचोक गढि, पलाञ्चोक भमरकोट तिमालकोट बुचाकोट, दुम्जा, काभ्रेकोट, बनेपा चौकोट, पनौति बिजयका प्रमुख सुत्रधार हुन! उनले नेपाल एकिकरणको क्रममा महत्त्वपूर्ण योगदान दिएका छन! इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्णिामाको पुर्णाङ्ग५० २०२८ भाद्र ८/१० मा १८१७साल पलाञ्चोक आक्रमण गर्दा बाघ भिमसेनथापा (बडाकाजि अमरसिह थापाका पिता) घोरामा परि मारिएका र पलाञ्चोक आक्रमणको जिम्मा गोर्खा ली फौजको तर्फबाट सरदार रामकृष्ण कुबरलाई दिएपछि उनले काज फत्तेगरी काभ्रे गढिमा अधिकार जमाइ१५ बर्ष सम्म बडा हाकिम यश पुर्वि प्रदेशको हाकिम भएको उल्लेख इतिहास शिरोमणि बाबुराम आचार्यले गर्नु भएको छ! बीस १८१९ भाद्र १० मा गोरखालीले मकवानपुर गढि कब्जा गरेको र त्यस अन्तरॐगतको दास राज्य तिमालले गोर्खालि फौज सग आत्मसमर्पण नगरेको हुनाले घमासान युद हुदा सरदार रामकृष्ण कुबरका भाइ बलभद्र कुबरका हजुरबुबा जयकृष्ण कुबरको तिमालका शैनिकको खुडाबाट मृत्यु हुन पुग्छ करिब ३०० गोर्खाली फौजको हत्या भएपछि रामकृष्ण कुबर तिमाल बेसि झरी पलाञ्चोक किल्लामा बस्छन, आफ्ना प्रिय भाइ जय कृष्ण कुबर सहित ठुलो हता हता भएपछि रिसले चुर भएका रामकृष्णले भाइ सहित गोरखालि सेनाका को लास दिने र तिमाल बेसिको उब्जाउ जमिन तिमाल कोटलाइ फिर्ता गर्ने सन्धि गर्ने हतियार बिना बोलायर अघिलो दिन राति बगरमा ठुलो मात्रामा हतियार लुकाएर हतियार बिनाका ७०० सैनिक सहितलाइ सुनकोसी बगरमा काटि रामकृष्ण कुबरले भाइको हत्याको बदला लिएको घोषणा गर्दछन् उता काठमाडौ मा रहेका राजा पृथ्वीनारायण शासले रामकृष्णको भाइ जयकृष्ण को मृत्युको खबरले दुखित हुँदै वि स१८२९ असोज ५मा एउटा लालमोहोर जारी गरि काभ्रे कोट हालको धुलिखेल र भमरकोट पाचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने हुकुमको मोहोर आज पनि गुठि सस्थानमा प्रमाणित रहेको छ!( फलेन्द्र बिक्रम राणा- नेपाली राणा घरानाको सक्ष्िप्त बशावली)

 

काजि रामकृष्ण र सरदार जयकृष्ण कुबर तथा बलभद्र कुबरका कुप्रा बा अहिराम कुबर कास्कीका राजाको दमन सहन गर्ने नसकि पछि पराजुली र थापाहरुको सहयोगमा कास्किबाट भागेर गोर्खा राज्य सग शरण मागेको कुबर बशवालिमा छापिएको छ!

अहिराम कुबर कास्कीका चल्दापुर्दा व्यक्ति थिए यिनका तीन भाइ छोरा जेठा रामकृष्ण माइला जयकृष्ण र कान्छा अरससिह कुबर हुन! किर्तिपुरको युद्धमा काजि कालुपाण्डेको मृत्यु भएपछि उनको स्थानमा काभ्रे पुर्व किरात सम्म बिजय गरेका सरदार रामकृष्ण कुबर काजि नियुक्त भएको पढ्न पाइन्छ! तिमालकोटमा हत्या गरिएका भाइ जयकृष्ण कुबरका छोरा चन्द्रविर कुबर सानै उमेरका भएका कारण भमरकोटमै बढिरहेको र युवा अवस्थामा उनले भमरकोटको सरदार पद ग्रहण गरेको इतिहासका दस्ताबेज प्रयाप्त छन!

काभ्रेपलान्चोक रक्षाका निमित्त पृथ्वीनारायण शाहले नवयुवक रामकृष्ण कुबरलाइ नियुक्त गरेका हुनाले यिनी भमरकोटमा घरबार नै गरि त्यहाका स्थायी बासिन्दा भएको देखिन्छ, पृथ्वीनारायण शाहको मृत्यु भएको ३० बर्षपछिको बीस १८६० चैत्र बदि ३ रोज ६ को गिर्वाणयुद्बविरबिक्रम शाहबाट गरिदिएको लालमोहोर(बाबुराम आचार्य, पुर्वत: ३८६) बाट रामकृष्ण कुबर मात्र हैन यिनका छोरा भाइ भतिजाहरुको समेत स्थाइ बासस्थान भमरकोट नै रहेको देखिन्छ, जब राजालेनै तिम्रो र तिमो खलको स्थाइ बसोबास भमरकोट हो भनेर प्रमाणित गरेपछि, बलभद्रका पिता भमरकोट गढिको सुरक्षार्थ सरदार थिए दाजु भाइ सबै यतै थिए, राजाको हुकुम मोहोर, विर्ता थियो ।

वि स १८४६ साल मार्ग महिनाको १७ गते( ईश१७९० जनवरी ३०) हालको काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ६ भमरकोटमा वीर बलभद्रको जन्म भएको हो! उनकी आमा बडाकाजी अमरसिह थापाकी छोरी अम्किका देवि कुबर हुन! नालापानी नेपाल अग्रेज युद्वका कप्तान रहेका वीर वलभद्र कुबरको बाल्यकाल भमरकोट मै बितेको हो! उनका हजुरबुबा सरदार जयकृष्ण कुबर तिमाल कोटमा मारिएपछि उनी र उनका भाइहरुलाइ काभ्रे कोट र भमरकोट हालको धुलिखेल र पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने मोहोर पृथ्वीनारायण साह र गीवार्णबिक्रम बाट हुकुम भएको थियो! बलभद्र कुबरका पिता चन्द्रविर कुबर भमरकोटमा रहेको सिहनाथ पल्टनका प्रमुख थिए! वि स १८६२ साल जेष्ठ १३ गतेका दिन काठमाडौ दरबारको पत्रअनुसार छाउनिमा आठै प्रहर रुजु राख्नु आफुले खाइपाइ आएको तलब बाहेक ३५२२ खान्कि राख्नु भन्ने आदेश मुताविक ४ पल्टन थिपिएको थियो! वी स १८६३ मा करिब १७ बर्षको युवा उमेरका बलभद्र कुबरले जयशिवशकर बरख कम्पनीमा सुबेदार पदमा नियुक्ति पाएका हुन! केही समय पश्चात् पल्टन सहित बलभद् कुबर लाई डोटि खटाइयो र उनले डोडिका राजकाज समेत समाली जनता कजाएर बसेका थिए! काभ्रेपलान्चोकको भमरकोटमा खलङ्गा खडा गरि बसेका उनका बाबू चन्द्रविर कुबर आफ्नो पल्टन सहित थपेको ४ पल्टन जम्मा पाच पल्टन लियर १८६४ साल वैसाखमा कुमाउ गढवालको श्रीनगरमा शिहनाथ कम्पनी लियर जानू भन्ने हुकु भएपछि बाबू गढवाल कज्याउन पुगेका थिए छोरा बलभद्र डोटि र बाबू कुमाउ गढवाल क्षेत्रका सेनापति बनेको ईतिहास जिवित छ! वि स १८६८मा नेपाल सरकारले दुन उपत्यकाको शासन व्यवस्था चलाउन र सुरक्षा गर्ने डोटिका सेनापति बलभद्र कुबरको वरख बल्टन साथ डोटिबाट खटाउछ सिहनाथ कम्पनी लिहि बसेका पिता चन्द्रविर कुबरको १८६९ साल बैसाखमा निधन भएपछि बलभद्र कुबरलाइ नालापानि किल्लाको जिम्मेवारी दिइएको हो!

१८७१ साल माग मास्वस्थानि पुर्णिामा का दिन कप्तानमा बढुवा गरि राजाले ” तेरा बाबा सरदार चन्द्रविर कुबर खस्याछन, तिमिहरुका ख्वामिद पालना गन्र्या हामी छदैछौ, तेरा बाबाले गरि आएका कामकाज बडाकाजि अमरसिहथापाले लाया अह्राया बमोजिम गर्नु भनि लेखिको पत्र सुरक्षित छ!

वि स १८२९ असोज ५ पृथ्वीनारायण शाहको मोहोर र ३१ बर्षपछि वि स १८६० चेत्र गिवार्णयुद्व बिक्रमको लालमोहोरले रामकृष्ण जयकृष्ण , जयकृष्णका छोरा चन्द्रविर कुबर, र उनका छोरा बलभद्र समेत भमरकोट कै स्थायी बासिन्दा हुन भन्ने प्रमाणित हुन आउछ, पृथ्वीनारायण शाहको मोहोर र गीवार्णयुद्वको मोहोर गुठिका कागजपत्र आधार मान्दा बलभद्र कुबर काभ्रेपलान्चोक  पाँचखाल भमरकोटका सन्तति हुन र उनको जन्म यहि भएको प्रमाणित हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *